नोबेल अस्पतालले पनि अब कोरोनाका नयाँ बिरामी भर्ना नलिने
विराटनगर, १२ जेठ । विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका नयाँ बिरामीको भर्ना लिन बन्द गरेको छ । अक्सिजन अभाव भएपछि नयाँ बिरामीको भर्ना बन्द गरेको नोबेल अस्पतालले जनाएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलमा १७५ जना संक्रमित उपचाररत छन् । ती संक्रमितको लागि एक रातमा १८० सिलिण्डर चाहिन्छ । अक्सिजन अभाव हुँदा भर्ना भएका संक्रमितको उपचारमा समस्या भएपछि नयाँ भर्ना रोकिएको उनले बताए ।
नोबेलमा भर्ना भएका संक्रमितलाई हाईफ्लो अक्सिजनमा राख्नुपर्छ । तर अक्सिजन सप्लाई गर्दै आएका उद्योगको उत्पादन रोकिएपछि बुधबारबाट अक्सिजन अभाव भएको हो ।
नोबेललाई आवश्यक अक्सिजन सुनसरीको खनारमा रहेको पाथीभरा र मोरङको बूढीगंगामा रहेको हिमाल अक्सिजन उद्योगले आपूर्ति गर्दै आएको थियो । मंगलबार दुवै उद्योगको उत्पादनमा समस्या थियो । बुधबार हिमाल अक्सिजन अक्सिजनले मर्मत गरी उत्पादन सुरु गरेको छ भने पाथिभराको मेसिन मर्मत भइसकेको छैन ।
१९७ बेड सञ्चालन गरिरहेको नोबेलमा १७५ जना संक्रमितको उपचार भइरहेको छ ।