राहतमा बालबालिकालाई ‘पत्रु खाना’ वितरण नगर्न मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं, ११ जेठ । निषेधाज्ञाका बेला राहतका नाममा बालबालिकाको स्वास्थ्यमा असर पार्ने प्याकेटका खाद्यवस्तु तथा बट्टाको दूध वितरण नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय पालिका तथा विभिन्न सङ्घसंस्थाले राहत वितरण गर्दा बालबालिकालाई पत्रु खाना पनि वितरण गरेको गुनासो आएपछि मन्त्रालयले राहतवितरण गर्दा बालबालिकालाई यस्ता खानेकुरा नदिन आग्रह गरेको हो ।

आपतकालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु निःशुल्क वितरण गर्ने वा अनुदानमा दिने गर्दा स्तनपानलाई निरुत्साहित गर्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु अनुदानमा वितरण वा बिक्री गरे कारबाही हुने महाशाखाले जनाएको छ ।

स्तनपान गराउँदा बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको विकास हुने महाशाखाका निर्देशक डाक्टर तारानाथ पोख्रेलले बताए ।  आमाको दूधबाट कोरोना भाइरस सरेको अहिलेसम्म प्रमाणित नभएको र कोरोना सङ्क्रमण हुनेभन्दा स्तनपान नगराउँदा शिशुलाई बढी जोखिम हुन सक्ने भएकाले आमा सङ्क्रमित भए पनि व्यक्तिगत सुरक्षाका उपायहरु अपनाएर स्तनपान गराउन उनको सुझाव छ। त्यस्तै शिशुलाई सङ्क्रमण भएको अवस्थामा पनि स्वास्थ्य मापदण्डलाई अपनाएर स्तनपान गराउन महाशाखाले अनुरोध गरेको छ ।

आमालाई कोरोना सङ्क्रमणको जटिल अवस्था रहेमा शिशुसँग प्रत्यक्ष सम्पर्कबाट टाढा राख्ने, स्तनपान नगराउने तर दूध निचोरेर चम्चाबाट खुवाउन सकिने उल्लेख छ । त्यस्तै आमाले कोरोनाविरुद्धको खोप लगाएको अवस्थामा पनि स्तनपानलाई निरन्तरता दिन सकिने डाक्टर पोख्रेलले बताए ।  शिशु जन्मेको ६ महिना पूरा भएपछि उमेरअनुसार विभिन्न प्रकारका स्वच्छ तथा पोषणयुक्त पुरक खाना पर्याप्त मात्रामा खुवाउन सकिने महाशाखाले जनाएको छ ।

Last modified on 2021-05-25 19:28:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts