युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम

काठमाडौं, १० जेठ । कोभिड–१९ नियन्त्रण र उपचारका लागि शक्तिशाली केन्द्रीय अस्पताल बनाइएको कोभिड–१९ केन्द्रीय अस्पताल (वीर अस्पताल)को कमाण्डरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम नियुक्त भएका छन् । सोमबार मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको मन्त्रालयका प्रशासन प्रमुख दामोदर रेग्मीले जानकारी दिए ।
नवनियुक्त प्रशासकीय अधिकारी डा. गौतमले मंगलबारदेखि नै कार्यभार सम्हाल्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारी दिन चाहिरहेका छन् । प्रधानमन्त्री नै कोभिड–१९ निर्देशक समितिको अध्यक्ष भएकाले केन्द्रीय अस्पतालको नेतृत्वमा पनि उनकै रोजाइको व्यक्ति ल्याइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रत्यक्ष कमाण्डमा सञ्चालन हुने उक्त अस्पतालको नेतृत्व निजामती सेवाको राजपंत्राकित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको ११ औं तहको वरिष्ठ अधिकारी वा वरिष्ठ चिकित्सकले गर्ने व्यवस्था छ । डा. गौतम दुवै स्वास्थ्य मन्त्रालयको ११ औं तहका बरिष्ठ अधिकारीका साथै वरिष्ठ चिकित्सक पनि हुन ।