कोभिशिल्डको दोस्रो डोज लगाउन एक महिना समय थपियो



Download our app to get more features

काठमाडौं, १० जेठ । सरकारले ६५ बर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने अवधि एक महिना थप गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने भनेको थियो । तर अब दोस्रो डोज खोप १६ हप्तापछि लगाइने मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए ।

मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले भारतले पठाएको नयाँ नियमअनुसार कोभिशिल्ड खोपको दोस्रो डोज १२ देखि १६ हप्तासम्ममा लगाउन सकिने र नेपालले त्यसै अनुसार तयारी गरेको जानकारी दिए ।

६५ बर्ष माथिकालाई कोभिशिल्ड लगाउन सुरु गरिएको आगामी २३ जेठमा १२ हप्ता पूरा हुँदैछ । तर हाल नेपालमा ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन पुग्ने गरी खोप मौज्दात छैन । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरेको १० लाख डोज कहिले आउने टुंगो छैन । यसअघि सेरमले यो वर्ष आफूहरुले खोप निर्यात गर्न नसक्ने बताइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ लाख जेष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले  खोप खरिदका लागि सरकारले  अमेरिका, बेलायत र रुसलाई पत्राचार गरे पनि जवाफ नआएको बताए ।

Last modified on 2021-05-24 17:41:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts