नक्कली स्यानिटाइजर उत्पादन गर्ने सञ्चालक पक्राउ
ललितपुर, ९ जेठ । नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्रीरवितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । अवैधानिक रूपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरीत उत्पादन गरिएको नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्रीरवितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलको शीतल हाइटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको स्यानिटाइजर, स्यानिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायत सामग्री पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्द्र कुबेर खापुङले जानकारी दिए ।
स्वास्थ्यका लागि प्रतिकूल र निम्न गुणस्तरको स्यानिटाइजर उत्पादन तथा बिक्रीरवितरण भइरहेको सूचनाको आधारमा छापा मारिएको हो । एसएसपी खापुङले उत्पादित स्यानिटाइजर ल्याब टेस्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विषाक्त पाइएको पनि बताए ।
दोषीमाथि कानुनी कारबाही अगाडि बढाइने र यस कारखानालगायत मुख्य–मुख्य डिलर र सप्लायर्सलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीले कारखानामा ३० हजार लिटर स्यानिटाइजर हुन सक्ने बताएको छ ।