काठमाडौं महानगरको सक्रियता, कोरोना उपचारका लागि ११ अस्पतालसँग सम्झौता
काठमाडौं, ८ जेठ । कोरोना संक्रमितको उपचारका लागि काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । पछिल्लो समय काठमाण्डौमा बिरामीको सङ्ख्या बढिरहेको र उपचारमा समस्या हुँदा महानगरपालिकाले अस्पताललाई आवश्यक उपकरण र कर्मचारीसमेत सहयोग गरेर उपचारका लागि सक्रियता देखाएको हो ।
हिजोदेखि महानगरको अनुदान सहयोगबाट नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन र सामाखुशीमा रहेको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर पनि शुरु गरिएको छ । महानगरपालिकाले अरु ११ अस्पतालसँग सम्झौता गरी कोरोनाका बिरामीको स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण प्रदान गरिरहेको छ ।
महानगरको स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले १६ वटा ठाउँ तोकेर परीक्षणलाई तीव्र बनाएको छ । महानगरका ३२ वडाबाट अहिले हरेक दिन ६ सय जनाको परीक्षण हुने गरेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
महानगरपालिकाका ल्याब टेक्निशियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेका छन् । एम्बुलेन्सको आवश्यकता पर्ने बिरामीका लागि अस्पतालसम्म लैजाने र ल्याउने व्यवस्था पनि महानगरपालिकाले नै गर्दै आएको छ । यसका लागि पनि बिरामीले पैसा तिर्नु पर्दैन । सेवा महानगरका ३२ वडामध्ये सात ठाउँबाट नागरिकले प्राप्त गर्न सक्नेछन् । निःशुल्क एम्बुलेन्सको लागि आवश्यक पर्ने जो कोहीले ११८० महानगरपालिकाको हटलाइनमा सम्पर्क गर्नुपर्ने छ । रासस