स्वीट्जरल्यान्डबाट आयो ९४ करोड रुपैयाँ बराबरको आपतकालीन स्वास्थ्य सामाग्री
काठमाडौं, ८ जेठ । स्वीट्जरल्यान्ड सरकारले पठाएको कोभिड-१९ विरुद्ध प्रयोग गरिने स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेका छ।
८० लाख अमेरिकी डलर अर्थात करिब ९४ करोड नेपाली रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामग्री स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्।
विनासकारी कोभिड-१९ संकटसंग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले यो सहयोग उपलब्ध गराएको नेपालस्थित स्विज राजदूतवासले जनाएको छ।
स्वीट्जरल्यान्डबाट आइपुगेको स्वास्थ्य सामग्रीमा ४० थान भेण्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, ११ लाख र्यापिड एण्टिजेन टेस्ट, १ लाख १० हजार केएन ९५ मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन्। कोरोनाविरुद्धको महामारीमा नेपालीकै साथमा स्वीट्जरल्यान्ड रहेको राजदूत क्यापेलरले बताइन्।