कोशी अस्पतालमा थप ८ जना संक्रमितको मृत्यु
विराटनगर, ६ जेठ । विराटनगरको कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र ६ जना पुरुषको रहेका छन् ।
कोशी कोभिड उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मृतक मध्ये ४ जना विराटनगरका छन् भने ६ जना बाहिरका छन् ।
कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ५५ वर्षीय पुरुषको बुधबार दिउँसो १२ बजे, विराटनगर महानगरपालिका– १० का ७० वर्षीय वृद्धको बुधबार दिउँसो साढे १२ बजे,विराटनगर महानगरपालिका– ९ का ८६ वर्षीय वृद्धको बुधबार दिउँसो साढे १२ बजे र विराटनगर महानगर-८ का ७६ वर्षीय वृद्धको बिहीबार बिहान ६ बजे मृत्यु भएको छ ।
यस्तै, बिहीबार बिहान करिब २स्३० बजे इनरुवा नगरपालिका- ३ सुनसरीका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई वैशाख ३१ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
सिरहा घर भएकी ५० वर्षीय महिलाको बिहीबार बिहान सवा १ बजे, इटहरी– ७ सुनसरीका ३० वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै, नोबेल मेडिकल कलेजमा एकजना कोरोना सङ्क्रमितको बुधबार बेलुका उपचारको क्रममा मृत्यु भएको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरीका ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना पोजेटिभ भएपछि उनलाई बैशाख २९ गते नोबेलमा भर्ना गरिएको थियो ।