तत्काल खोप निर्यात नगर्ने सेरमको घोषणा, नेपालमा खोप अभियान थप प्रभावित हुने संकेत
काठमाडौं, ५ जेठ । भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले खोप निर्यातमा रोक लगाउने भएको छ ।
कोरोनाविरुद्धको खोप उत्पादन गरेको सेरमले विज्ञप्ति जारी गर्दै भारतमा जारी खोप अभियानलाई प्राथमिकता दिँदै तत्काल खोप निर्यात गर्न नसकिने बताएको हो ।
भारतमा कोरोनाको दोस्रो लहरले नराम्रोसँग प्रभाव पारेपछि खोप निर्यात गरेको भन्दै चौतर्फी आलोचना र विरोध हुँदै आएको छ । आफ्नो देशका नागरिकको जीवनलाई जोखिममा राखेर कोरोनाविरुद्धको खोप निर्यात गरेको भन्दै सरकारको समेत आलोचना भएपछि सेरमका कार्यकारी निर्देशक आदर पुनावालाले विज्ञप्ति जारी गरेका हुन् ।
भारत सरकारले हाल खोप निर्यातमा रोक लगाएको हुँदा निर्यात फुकुवा नभएसम्म खोप बाह्य मुलुकमा नपुग्ने भएको छ । कम्पनीले सन् २०२१ को अन्त्यसम्ममा मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने बताएको छ ।
यता, सेरमसँग खोप खरिदका लागि सरकारले ८० प्रतिशत रकम निकासा गरिसकेपछि नेपालमा खोप कार्यक्रम थप प्रभावित हुने भएको छ ।
सरकारले सेरमबाट २० लाख डोज खोप खरिदका लागि अग्रिम भुक्तानि गरेपनि १० लाख डोज खोप अझै आउन सकेको छैन । जसले गर्दा नेपालमा खोप अभियान प्रभावित बनेको छ भने पहिलो डोज लगाइसकेकाहरुले दोस्रो डोज कहिले लगाउने विषयपनि अन्यौल बनेको छ ।
एकसाता अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले अबको केही समयमै भारतबाट खोप आयात हुने भनेर विश्वास दिलाएका थिए । उनले भारत सरकारले केहि दिनमै खोप निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा हुने र केहि समयमै नेपालमा खोप अभियान पुनः सुरु हुने बताएका थिए ।
अब खोप उत्पादक कम्पनीले नै खोप निर्यात नगर्ने घोषणा गरेपछि नेपालमा खोप अभियान थप अन्यौलता तर्फ धकेलिएको छ ।