कोरोना संक्रमित बिरामी बढेसँगै बजारमा सिटामोल समेत पाउन छाड्यो
औषधि उत्पादक संघ भन्छः यसै साता समस्या समाधान हुन्छ

काठमाडौं, ५ जेठ । कोरोना महामारीको दोस्रो लहरले मुलुक प्रभावित भइरहेको बेला अत्यावश्यक औषधि अभाव हुन थालेको छ ।
कोरोना संक्रमणको लक्षणमध्यको एक ज्वरो आउँदा प्रयोग हुने सिटामोल समेत बजारमा अभाव हुन थालेको छ ।
नेपालमा कोरोनाको दोस्रो लहरले सबै जिल्ला प्रभावित भएको र बिरामीको संख्या पनि बढ्न थालेपछि सिटामोल अभाव हुन थालेको छ ।
पाल्पा, झापा, डोल्पा लगायतका जिल्लामा सिटामोल अभाव हुँदा बिरामीहरुलाई समस्या हुन थालेको छ ।
यता, औषधि उत्पादक संघले भने पछिल्लो समय सिटामोलको माग अत्यधिक बढेकोले अभाव भएको बताएको छ ।
संघका महासचिव विपलब अधिकारीले सामान्य अवस्थामा बजारमा माग भएको औषधि आपूर्ति भएपनि पछिल्लो समय माग अत्यधिक बढेकोले अभाव भएको बताए ।
हाम्रो डक्टर न्यूजसँग कुराकानी गर्दै उनले मुलुकमा बढ्दो कोरोना संक्रमणको दर बिरामीको संख्याका कारण सिटामोल अभाव भएपनि यहि हप्ताभित्र औषधि आपूर्ति हुने बताए ।
उनले भने, ‘बजारमा माग भइरहेको भन्दा बढी माग हुन थाल्यो र अर्को भनेको मानिसहरुले आवश्यकता भन्दा बढी औषधि घरमा जम्मा गर्न थालेपछि यो समस्या देखिएको हो । तर, यहि हप्ता भित्र ५०/६० लाख सिटामोल बजारमा जाँदैछ र समस्या समाधान हुन्छ ।’
औषधि अभाव हुनुको अर्को कारण यातायात पनि रहेको भन्दै अधिकारीले यसका लागि औषधि व्यवस्था विभागले पहल गरिरहेको हुँदा यसै साताभित्र समास्या समाधान हुन्छ ।
महामारीको समय औषधि अभाव हुँदा कसरी नेपाल औषधिमा आत्मनिर्भर हुन्छ भन्ने प्रश्नमा अधिकारीले भने, ‘हामीसँग तीन महिनालाई पुग्ने कच्चा पदार्थ छ । त्यसकारण आगामी दिनमा यस्तो समस्या आउँदैन । हामी नेपाली बजारको माग धान्न सक्छौं । तर, नेपालीकोे बानी घरमा आवश्यकता भन्दा बढी खरिद गरेर थुपार्दा यस्तो समस्या देखिएको हो ।’
‘हामीले पहिलेदेखि भन्दैछौं हामी नेपाली औषधि बजारको माग पूरा गर्न सक्छौं र सरकारले पनि त्यसै अनुसारको पहल गरिरहेको हुँदा समस्या हुँदैन’, उनले थपे ।