बी एण्ड सीलाई सम्बन्धन दिलाउन चिकित्सा शिक्षा आयोगमा केयूकाे पत्र, आयाेग अड्काउने दाउमा
काठमाडौं, ४ जेठ । काठमाडौं विश्वविद्यालयले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर (प्रस्तावित) लाई सम्बन्धन दिनका लागि स्विकृति दिन चिकित्सा शिक्षा आयोगमा पत्र पठाएको छ ।
विश्वविद्यालयले सिट संख्यासहित सम्बन्धनको निर्णय गरिएको र सो अनुसार सिफारिसका लागि चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको हो ।
विश्वविद्यालयको कार्यकारी परिषद्को वैशाख ३१ गतेको बैठकले बी एण्ड सीलाई सम्बन्धनको निर्णयका लागि सिफारिस गर्ने निर्णय गरी सोमबार आयोगलाई ईमेलमार्फत् पत्राचार गरिएको हो ।
विश्वविद्यालयको ८९ औं बैठकले नै बीएण्डसीको सम्बन्ध प्रक्रिया अगाडी बढाउने निर्णय गरेको र विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेसम्म उक्त कलेजको प्रारम्भिक निरीक्षण समेत गरेको जनाएको छ ।
आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले विश्वविद्यालयले निर्णय गरेको पत्र आयोगमा प्राप्त भएको हाम्रो डक्टर न्यूजलाई बताए ।
उनले भने, ‘काठमाडौं विश्वविद्यालयले ईमेलमा सम्बन्धनका लागि स्विकृति दिने आशयको पत्र आयोगमा आएको छ । तर, विज्ञसहितको टोलीले गरेको अनुगमनको रिपोर्ट भने छैन ।’
‘ऐन अनुसार मन्त्रालयबाट सम्बन्धन लिने बेलामा नै बी एण्ड सीको सम्बन्धन दिने आशय पत्र लिनुपर्नेमा विश्वविद्यालयले किन ढिलाई गरेको थाहा छैन । सोमवार मात्रै पत्र आएको छ अब यस विषयमा आयोगले छलफल गरेर निर्णय गर्नेछ’ उनले थपे ।
प्रवक्ता लुइटेलले आयोगमा पत्र आउँदैमा सम्बन्धनका लागि स्विकृति दिनै पर्छ भन्ने हुँदैन र यस विषयमा अब आयोगले प्रक्रियाबाट छलफल गरेर अन्तिम निर्णय गर्ने बताए ।
उनले आजको भोलि नै प्रक्रिया सुरु नहुने भएकाले समय लाग्ने बताए ।