संक्रमित स्वास्थ्यकर्मीको उपचारका लागि कमलपोखरीमा क्वरेण्टीन सेन्टर



Download our app to get more features

काठमाडौं, ३ जेठ । नेपाल चिकित्सक सङ्घले कोरोना भाइरसका संक्रमित स्वास्थ्यकर्मीको बसोबास र उपचारका लागि काठमाडौंको कमलपोखरीमा क्वरेण्टीन सेन्टर सञ्चालनमा ल्याएको छ ।
सरकारले कोरोनाको रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको उपचार र रेखदेखमा कुनै काम नगरेको भन्दै चिकित्सक सङ्घले अग्रवाल सेवा केन्द्र, हिन्दू सेवक सङ्घ नेपाल, सेवा इन्टरनेशनल नेपाल तथा उपकार सेवा नेपालको सहयोगमा कमलपोखरीको अग्रवाल भवनमा एक सय शय्याको सुविधा सम्पन्न क्वरेण्टीन सेन्टर सञ्चालनमा ल्याएको हो । 

यसलाई केही समयमै आइसोलेशन सेन्टरमा रूपान्तरण गरिने सङ्घले जनाएको छ । क्वरेण्टीन सेन्टरमा स्वस्थ खाना उपलब्ध गराइनेछ भने केही समयपछि सञ्चालन गरिने आइसोलेशन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधि तथा स्वास्थ्य परीक्षणका लागि चिकित्सक एवम् स्वास्थ्यकर्मीको उपलब्धता हुनेछ ।  

सङ्घले अस्पतालमा शय्या, सघन उपचार युनिटसँगै औषधि र अक्सिजनको चरम अभावले कहालीलाग्दो अवस्था सिर्जना हुँदा पनि सरकारले कामै नगरि बसेको भन्दै आक्रोश पोखेको छ ।
 स्वास्थ्य सेवामा अहोरात्र खटिएका चिकित्सकको मनोबल उच्च पार्नुको सट्टा नेपाल सरकार एवम् राजनीतिक दलहरू अन्य कुरालाई प्राथमिकतामा राखेर गैरजिम्मेवार बनेको र विश्वसामु नै लज्जित हुने परिस्थिति सिर्जना भएको सङ्घले जनाएको छ ।  

Last modified on 2021-05-17 17:26:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts