काठमाडौंका १३ वटा अस्पतालमा कोभिड संक्रमितका लागि ओपिडी सेवा सुरु
काठमाडौं, ३ जेठ । सरकारले काठमाडौंका १३ अस्पतालमा कोभिड ओपिडी सेवा सुरु गरेको छ। संक्रमितको संख्या बढ्दै जाँदा होम आइसोलेसनमा बस्नेको संख्या बढेको र गम्भीर अवस्था भएपछि मात्र अस्पताल आइपुग्ने क्रम बढेपछि स्वास्थ्य मन्त्रालयले ओपिडी सञ्चालन गर्ने निर्णय गरेको हो।
कोभिड ओपिडीमा पोजिटिभ बिरामीको जाँच गरिने र जाँचका क्रममा सामान्य भएमा चिकित्सकको सुझावसहित घरमा पठाइने, अक्सिजन चाहिने अवस्था भएमा ओपिडीमा नै दिइने र गम्भीर भए भर्ना गर्ने व्यवस्था समेत मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार निजी अस्पतालमा पनि यसरी नै व्यवस्थापन गर्न भनिएको छ। यसले अस्पतालको भर्ना र अक्सिजनको चाप घटाउँछ। जसले गर्दा अक्सिजन र बेड नपाउने समस्या कम हुन्, उनले भने।
डा. गौतमले केही दिनमा नै अक्सिजनको समस्या समाधान हुने भन्दै बिरामीका आफन्तलाई नै अक्सिजन ल्याउन भन्नू गैरजिम्मेवार अभिव्यक्ति भएको पनि बताएका छन्।
कुन कुन अस्पतालमा छ यो सेवाहरु ?
मन्त्रालयले वीर अस्पताल र ट्रमा सेन्टर, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनीमा यी सेवा उपलव्ध रहेको बताएको छ ।
यस्तै पाटन अस्पताल, भक्तपुर अस्पताल, नेपाल प्रहरी अस्पताल, मनमोहन अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौँ मेडिकल कलेज सिनामंगल, किष्ट अस्पताल ग्वार्को र धुलिखेल अस्पताल काभ्रेमा यो सेवा शुरु भएको जनाएको छ ।
यी अस्पतालहरुले वरपरका अरु साना र सहायक अस्पतालहरुलाई थप सहयोग चाहिएको खण्डमा समेत समन्वय र सहयोग गर्ने बताइएको छ ।