भरतपुर अस्पतालमा १ महिनामै फेरि फेरिए मेसु, अब डा. न्यौपानेलाई दिइयो जिम्मा
चितवन, २ जेठ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा १ महिनामै मेडिकल सुपरिटेण्डेन्टमा फेरि नयाँ जिम्मेवारी तोकिएको छ ।
शुक्रवारको मन्त्रिस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुखमा डा. रोशन न्यौपानेलाई नियुक्त गरेको हो ।
एघारौँ तहमा बढुवा भएका उनी हाड जोर्नी तथा नशा रोग विशेषज्ञ हुन् । उनी अहिले अस्पतालका ४५ औँ मेसु बनेका छन् । यसअघि उनले अर्थोपेडिक सर्जनको रूपमा केही समय भरतपुर अस्पतालमै काम गरेका थिए ।
लमजुङको दुराडाँडा घर भएका न्यौपाने हाल काठमाडौं बस्दै आएका छन् । नियुक्ति पत्र बुझेको भएपनि अस्पताल हाजिर भने केही दिनपछि मात्र हुने स्रोतले बताएको छ । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत उनीले त्यसअघि म्याग्दी अस्पतालमा मेसुको जिम्मेवारी समेत सम्हाल्ली सकेका छन् ।
यसअघि भरतपुर अस्पतालमा कार्यरत दसौँ तहका मेडिकल जनरलिष्ट् चिकित्सक डा. जगन्नाथ तिवारी अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्ट रहेका थिए ।
यहि वैशाख महिनाको पहिलो साता भएको सचिवस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त प्रमुख मेसुमा डा. तिवारीलाई नियुक्त गरेको थियो ।
त्यसअघि अस्पतालको दुई महिना प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) को जिम्मेवारी डा. वासुदेव पाण्डेले सम्हालेका थिए । डा. पाण्डे वैशाख ५ गतेदेखि ६० वर्ष पुरा भएकाले उनले स्वास्थ्य सेवा ऐनको नियम बमोजिम अनिवार्य अवकाश पाएका थिए ।
यसरी छोटो समयमै मेसु परिवर्तन हुने यहाँ संस्कार जस्तो बनिसकेको छ । यसले कोरोना महामारी नियन्त्रण, अस्पतालको दिगो विकास निर्माणका काम र गुणस्तरीय सेवामा समेत प्रभाव पारेको छ । यस्तो परम्पराको अब अन्त्य हुनु जरूरी छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।