सुदूरपश्चिममा कोरोनाको बढ्दो ग्राफः वैशाख महिनामा संक्रमणसँगै मृत्युदर पनि उकालो
धनगढी, २ जेठ । सुदूरपश्चिम प्रदेशमा वैशाख महिनामा ११ हजार २ सय ५० संक्रमित थपिएका छन् ।
प्रदेशको स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कअनुसार वैशाखमा मात्र २ सय ४३ जनाको मृत्यु भएको छ भने, १ हजार ७ सय ९७ जना निको भएर घर फर्किएका छन् ।
प्रदेशभरीका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९ हजार ५ सय ६४ जना र प्रदेशका ४ वटा सीमानाकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६ सय ८६ जनामा संक्रमण पुस्टि भएको हो ।
संक्रमण दर र मृत्यु दर सातापिच्छे बढ्दो क्रममा
वैशाख महिनामा संक्रमण दरभन्दा निको हुने दर निकै थोरै रहेको छ । त्यस्तै मृत्यु दर भने निरन्तर उकालो लागिरहेको छ । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणसँगै मृत्युदरको ग्राफ निरन्तर उकालो लागिरहेको छ ।
पहिलो साता
वैशाखको पहिलो साता प्रदेशभर जम्मा ६ सय ९९ नमूना मात्र परीक्षण गरिएको थियो । तीमध्ये २ सय १० जनामा संक्रमण पुस्टि भएको थियो । पहिलो साता ११ जना संक्रमित निको भएका थिए भने, १ जनाले ज्यान गुमाएका थिए। वैशाखको सुरूवातमा प्रदेशमा कोरोनाले भयावह रूप लिएको थिएन । पहिलो साता संक्रमण दर ३० प्रतिशत थियो । सन्चो हुने दर ५ प्रतिशत थियो भने, मृत्यु दर ० दशमलव ५ प्रतिशत थियो ।
दोस्रो साता
वैशाखको दोस्रो साता संक्रमण दर ६ प्रतिशतले बढेको छ । निको हुने दर १५ प्रतिशतले बढेको पाइएको छ । त्यस्तै मृत्यु दर पनि शुन्य दशमलव ३ प्रतिशतले बढेको छ । दोस्रो साता २ हजार ४७ नमूना परीक्षण गरियो, तीमध्ये ७ सय ३९ जनामा संक्रमण पुस्टि भएको थियो । १४६ जना संक्रमित निको भएका थिए भने, ६ जनाले ज्यान गुमाएका थिए । दोस्रो साता संक्रमण दर ३६ प्रतिशत थियो । सन्चो हुने दरसमेत बढेर २० प्रतिशत पुग्यो भने, मृत्यु दर पनि बढेर शुन्य दशमलव ८ प्रतिशत पुग्यो ।
तेस्रो साता निषेधाज्ञा लागु, स्थिति झन भयावह
कोरोना भाइरस भयावह रूपमा फैलिएपछि सुदूरपश्चिमका अधिकांश स्थानहरूमा वैशाखको तेस्रो सातादेखि निषेधाज्ञा जारी गरिएको थियो । तर तेस्रो साताको सुरुवातदेखि नै कोरोनाको ग्राफ झनझन बढेको पाइएको छ ।
वैशाखको तेस्रो साता ४ हजार ४ सय ९८ नमूना परीक्षण गर्दा १ हजार ९ सय ५० जनामा संक्रमण पुस्टि भयो । १ सय ७५ जना संक्रमित निको भए, भने ज्यान गुमाउनेको संख्या बढेर ५३ पुग्यो । तोस्रो साता संक्रमण दर ३६ प्रतिशत बढेर ४३ प्रतिशत पुग्यो । सन्चो हुने दर भने २० प्रतिशत घटेर ९ प्रतिशतमा झर । त्यस्तै मृत्यु दर शुन्य दशमलव ८ प्रतिशतबाट बढेर ३ प्रतिशतमा पुग्यो । तेस्रो सातादेखि प्रदेशमा कोरोनाले भयावह रूप लिएको हो । यो अवधिमा प्रदेशका सरकारी तथा निजी अस्पतालहरू कोरोना संक्रमितले भरिए । अक्सिजनको चरम अभाव भयो र मृत्यु दरसमेत असामान्य रूपमा बढ्यो ।
अन्तिम साता
त्यसैगरी अन्तिम साता अर्थात् १० दिनको अवधिमा सुदूरपश्चिममा १३ हजार ४ सय ५३ जनाको परीक्षण गर्दा ६ हजार ६ सय ६५ जनामा संक्रमण देखियो । १ हजार ४ सय ६५ जना निकै भए । त्यस्तै मृत्यु दर बढेर १ सय ८३ पुग्यो ।
कोरोना विकराल रूपमा फैलिएपछि यो अवधिमा परीक्षणको दायरा बढाइएको देखिन्छ ।
अन्तिम साता संक्रमण दर ४३ प्रतिशत बढेर ५० प्रतिशत पुग्यो । सन्चो हुने दर भने ९ प्रतिशतबाट बढेर २२ प्रतिशत पुग्यो । त्यस्तै मृत्यु दर अन्तिम साता पनि ३ प्रतिशतमा यथावत रहेको छ ।
संक्रमण दर र मृत्यु दर बढ्नुको कारण
सुदूरपश्चिम प्रदेशमा वैशाख महिनामा कोरोनाको ग्राफ तीव्र गतिमा उकालो लागेकाे देखिन्छ । कोरोना संक्रमितहरूको सम्पर्क खोजी नहुनु र निषेधाज्ञाको प्रभावकारी पालना नहुनुले संक्रमण दर बढेको पाइएको हो । त्यस्तै जटिल समस्या देखिएपछि मात्र अस्पताल जाने र प्रदेशमा कोरोना उपचारको लागि अतिआवश्यक मानिएको अक्सिजनको चरम अभावले गर्दा मृत्यु दर बढेको हो ।
अबको डेढ महिना स्थिति चिन्ताजनक हुने
चैत महिनाको तुलनामा वैशाखमा कोरोना भाइरस ग्राफ निरन्तर उकालो लागिरहेको छ । यो अवस्था आगामी डेढ महिनासम्म रहने चिकित्सकहरूको अनुमान छ । सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजन दत्त शर्मा पौड्यालले जेठको अन्तिम साता वा असारको पहिलो सातासम्म कोरोना उच्चतम बिन्दुमा पुग्नसक्ने बताएका छन् ।
सीमानाकाबाट पनि जोखिम उत्तिकै
छिमेकी भारतमा पनि कोरोना भयावह रूपमा फैलिएको छ । वैशाख महिनामा मात्र भारतका विभिन्न राज्यहरूबाट सुदूरपश्चिमका विभिन्न नाका हुँदै ३५ हजार १ सय ७० जना नेपालीहरू भित्रिएका छन् । तीमध्ये झण्डै ४० प्रतिशतको मात्र अर्थात् १४ हजार २५८ जनाको मात्र परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ हजार ६ सय ८६ अर्थात् १२ प्रतिशतमा कोरोना संक्रमण पुस्टि भएको छ ।
त्यस्तै नाकाबाट भित्रिएको मध्ये २० हजार ९ सय १२ जना बिना परीक्षण सोझै सुदूरका गाउँगाउँ पुगेका छन् । १२ प्रतिशतको दरले परीक्षण नगरिएका २० हजार ९ सय १२ जनामध्ये झण्डै २ हजार ५ सय संक्रमित सोझै गाउँगाउँ पुगेका हुन् । उनीहरूलाई स्थानीय पालिकाहरूले क्वारेन्टिनमा राख्ने व्यवस्था नगर्दा संक्रमण झनै बढेको हो । तर प्रदेशमा आइसोलेशन, होल्डिङ्ग सेन्टर र क्वारेन्टिन बनाउनेतर्फ तीनै तहका सरकार बेपरवाह देखिएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत पछिल्लो समय भारतसँगै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका देशहरूमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको बताएको छ ।
सुदूरपश्चिममा कोरोना संक्रमितहरू दैनिक रूपमा बढिरहेका छन् । सयौँ सुदूरवासीले ज्यान गुमाइरहेको छन् । अस्पतालहरू भरिएका छन्। संक्रमितहरूको लागि अत्यावश्यक मानिएको अक्सिजनको चरम अभाव छ। तर सुदूरपश्चिम प्रदेश सरकार भने कान तेल हालेर सुतेको छ ।