कोरोना संक्रमणबाट पेटरोग विशेषज्ञ डा. आचार्यको निधन
काठमाडौं, २ जेठ । ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. आइएल आचार्यको कोरोना संक्रमणबाट निधन भएको छ । सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा ८३ बर्षीय डा आचार्यको आज विहान ३ बजे निधन भएको हो ।
अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले कोरोना संक्रमणको कारण भएको निमोनियाबाट डा. आचार्यको आज बिहान मृत्यु भएको जनकारी दिए ।
डा. रुपाखेतीका अनुसार आचार्यलाई बैशाख १८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अनुसार अस्पताल ल्याउँदा आचार्यको ७५ प्रतिशत फोक्सोमा निमोनिया भइसकेको थियो।
उपचारपछि स्वास्थ्य सुधार हुँदै २९ गते कोरोना नेगेटिभ आएको थियो। तर, निमोनिया पूर्ण निको नभएका कारण उनलाई विशेष आइसियूमा सारेर उपचार गरिएको थियो ।
राति साढे ३ बजे तिर निधन भएका आचार्यको विहान परिवार आएपछि मात्रै भेन्टिलेटरबाट निकालेर मृत्यु घोषणा गरिएको थियो। आचार्यले कोरोना खोपको पहिलो डोज लगाएका थिए।
पेट तथा कलेजोसम्बन्धी रोगको उपचारमा कहलिएका डा. आचार्यले काठमाडौं अस्पताल, निदान अस्पतालमा आवद्ध थिए।