कोरोना महामारीविरुद्धको लडाईमा नेपाललाई आपत्कालीन सहयोग आवश्यक: डब्ल्यूएचओ



Download our app to get more features

बीबीसी, २ जेठ । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् ।

शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा. गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन् ।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए ।

डा. गेहब्रेयससले भने, "डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ ।"

नेपाल सरकारका वरिष्ठ स्वास्थ्य अधिकारीले भने आपत्कालीन सहयोग आवश्यक रहेको भन्ने धारणा 'डब्ल्यूएचओको मात्र भएको र नेपाल सरकारले अहिलेसम्म त्यस्तो नठानेको र सरकार व्यवस्थापन गर्न सक्ने अवस्थामै रहेको' बीबीसीलाई बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमित सङ्ख्या बढिरहेको देखेर डब्ल्यूएचओको त्यस्तो मूल्याङ्कन आएको हुनसक्ने बताए ।

के सङ्क्रमितको सङ्ख्या बढ्नु आपत्कालीन अवस्था देखिनका लागि एउटा आधार होइन र ?

डा. गौतमले भन्छन्, "सङ्क्रमितको सङ्ख्या जसरी बढेको थियो, पाँच दिनयता स्थिर छ। शुक्रवार केही घटेको छ। एक सातामा अझ कम हुन्छ होला ।"

गौतमले यस बीचमा विशेष अवस्था भनेर डब्ल्यूएचओसँग कुनै विशेष सहायता नमागिएको बताए ।

उनले भने, "डब्ल्यूएचओले त्यस्तो ठानेको भने उसको औपचारिक भनाइ आएपछि सरकारले त्यसबारे आवश्यक निर्णय गर्नेछ ।"

Last modified on 2021-05-16 10:54:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts