काठमाडौं जिल्लामा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइँदै
काठमाडौं, २ जेठ । काठमाडौं जिल्लामा आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदै छ ।
आज बिहान १० बजेदेखि निर्धारित केन्द्रबाट खोप लगाउने कार्यक्रम रहेको बताइएको छ ।
खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै खोप लगाउने जनाएको छ ।
यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिने बताएको हो ।
चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन् ।
खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ ।
खोप बिहान १० बजेदेखि साँझ ४ बजसम्म लगाउन पाइनेछ ।
जेठ २ बाट ९ दिनसम्म चल्ने खोपमा एक लाख ५९ हजार ४९९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।