सेती अस्पताललाई कोरोना विशेष अस्पताल बनाए निजी अस्पतालले सरकारी शुल्कमै बिरामीको उपचार गर्ने
धनगढी, १ जेठ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढेसँगै अस्पतालहरुमा अक्सिजन अभाव समेत हुँदा कोरोना संक्रमितहरुको उपचारमा निकै समस्या भएको छ ।
सबै अस्पतालमा कोरोनाको उपचार गर्नुपर्दा अक्सिजन आपूर्तिमा असहजता भएको र उपचार गर्न आउनेबाट झन सघन रुपले संक्रमण फैलिएको भन्दै चिन्ता गरिएको छ ।
यसैबीच सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाए निजी अस्पतालहरुले सरकारी शुल्कमै अन्य बिरामीको उपचार गर्ने बताउन थालेका छन् ।
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर दिनदिनै उकालो लागि रहेको छ। कोरोना संक्रमणको दर नथामिइरहेको बेला अक्सिजनको अभावले उपचारमा निकै समस्या भइरहेको छ । अहिले आएर प्रदेशका सबैजसो सरकारी र निजी अस्पतालमा कोरोनाको उपचार भइरहेको छ । यसरी कोरोना भएका र अन्य बिरामीको सँगसँगै उपचार गर्नुपर्दा संक्रमण नियन्त्रणभन्दा पनि थप सल्किइरहेको आशंका गरिन थालेको छ ।
यसैबीच अस्पतालबाट हुने संक्रमण रोक्न र कोभिड र नन–कोभिडका बिरामीको प्रभावकारी उपचारका लागि सेती प्रादेशिक अस्पताललाई कोभिड अस्पताल बनाए अन्य बिरामीको उपचार सरकारी शुल्कमा दिन तयार रहेको निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष जनकराज जोशीले बताएका छन् ।
सेती प्रादेशिक अस्पताल प्रशासनले भने सरकारले गर्ने जुनसुकै निर्णय पालन गर्ने जनाएको छ । “यदि सरकारले अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गर्नू भन्ने आदेश गरे सो आदेशको पालना गर्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई कुनै समस्या नहुने भएपनि अस्पतालबाट प्रदान गरिने शल्यक्रिया, प्रसुति र डाइलाइसिस जस्ता सेवाको व्यवस्थापनमा भने समस्या हुनसक्छ” सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डक्टर हेमराज पाण्डेयले भने, “यसको व्यवस्था मिलाउन सक्यो भने कोभिडको मात्रै उपचार गर्न सकिन्छ ।”
सुदूरपश्चिम प्रदेशका निजी अस्पतालहरुले सरकारले अक्सिजन ग्याँसको आपूर्तिको सुनिश्चितता प्रदान गरे अस्पतालका सबै शय्या कोरोना संक्रमितका लागि उपलब्ध गराउने बताउँदै आएका छन् ।
निजी अस्पतालहरुले कोभिड बाहेकका बिरामीको उपचार शुल्क सरकारले तोकेबमोजिम लिने गरी व्यवस्था मिलाउन सरकारलाई भनेपनि सुनुवाइ नभएको भन्दै निजी अस्पतालहरुले गुनासो गरेका छन् ।
प्रदेशभर कोरोना महामारीको प्रकोपले गर्दा हरेक दिन संक्रमितको संख्या बढ्दा क्रममा छ । प्रदेशका सरकारी तथा निजी अस्पतालमा शय्या अभावसँगै अक्सिजनको समेत हाहाकार भइरहेको बेला निजी अस्पतालहरुले प्रस्ताव गरेको विषयमा सरकारी धारणाबारे बुझ्न सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई पटकपटक फोन गर्दा समेत उठेन ।