कोरोनाका बिरामीले भरतपुर अस्पतालमा बेडसहितका अन्य जानकारी फोनबाटै लिन सक्ने
चितवन, १ जेठ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई मध्य नजर गरी ‘हेल्थ डेक्स’ सञ्चालनमा ल्याएको छ ।
कोरोना कहरलाई मध्य नजर गरी बिरामी र उहाँका आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेक्स’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमितको लागि बेड, अक्सिजन, बिरामीले होम आइसोलेसनमा रहदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्नेछन् ।
त्यसको लागि ०५६–५९६०९० मा संम्पर्क गर्न सकिने उनले बताए । त्यसका लागि १० जना चिकित्सक तथा ६ जना पारामेडिक्सलाई जिम्मेवारी तोकिएको छ ।
बिहान ७ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट्, दिउँसो १ देखि साँझ ७ बजेसम्म अर्को र रातीको समयमा गरी तीन सिफ्ट्मा २४ सैँ घण्टा सेवा सञ्चालनमा रहने छ ।
अस्पतालमा आएका बिरामीले समेत इमर्जेन्सीसँगै रहेको ‘कोभिड–१९ हेल्थ डेक्स’ मार्फत कोरोनासँग सम्बन्धीत सम्पूर्ण जानकारी लिन सक्नेछन् ।
अब, संक्रमितलाई बेड बुझ्न, सामान्य जिज्ञासा तथा समस्याका लागि अस्पताल आइराख्नु पर्ने झन्झट टरेको छ ।
अस्पताल आउँदा हुन सक्ने कोरोना संक्रमण समेत कम गर्न सकिने अस्पतालका प्रवक्ता तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले विश्वास व्यक्त गरे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।