किन समयमै उठ्दैन  सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट मृत्यु भएकाहरुको शव ?



Download our app to get more features

धनगढी, १ जेठ । सुदूरपश्चिम प्रदेशभित्र कोरोना भाइरसले भयावह रुप लिइरहेका बेला सेती प्रादेशिक अस्पतालमा भने कोरोना भाइरसबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा ढिलाइ हुने गरेको पाइएको छ।

दैनिक मृत्युदर बढ्दै गएपछि तुरुन्तै शव व्यवस्थापन गर्न कठिन भइरहेको अधिकारीहरुले बताएका हुन्। घण्टौसम्म मृत्यु भएकाहरुको शव बेडमै राखिँदा अन्य विरामीहरुलाई समेत मनोवैज्ञानिक असर पर्ने गरेको विरामीका आफन्तहरुले गुनासो गर्दै आएको छन्। शव व्यवस्थापनमा भइरहेको ढिलाईको सीधा असर अन्य विरामीमा मात्र होइन विरामीका आफन्तहरुमा समेत पर्ने गरेको छ।

कोरोना भाइरसका विरामीको संख्या एक महिनामै चार गुणाले बढेपछि सुदूरपश्चिममा मृत्युदर समेत भयावह बन्दै गएको हो। नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई सय ५४ जनाले ज्यान गुमाइसकेका छन्। कुल २७ हजार ४७० संक्रमित संख्या पुगेकोमा १५ हजार ६४१ जना निको भएका छन्। सुदूरपश्चिमका १२ वटा सरकारी अस्पतालको बेड क्षमता ९४३ मात्र हुँदा अधिकांश विरामी घरमै बस्न बाध्य छन्। 

जटिल समस्या भएर अस्पताल आइपुगेका विरामीले समेत समयमा बेड र अक्सिन नपाउँदा ज्यान गुमाउनु परेको अधिकारीहरुले बताएका छन्। सेती प्रादेशिक अस्पतालमा क्षमता भन्दा चार गुणा बढी विरामी आउँदा व्यवस्थापन गर्न समस्या भइरहेको हो।

साथै कोरोना भाइरसबाट मृत्यु हुने क्रम बढ्दै गएकाले समयमा शव व्यवस्थापन गर्न कठिन भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। शव व्यस्थापनको जिम्मा जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको भन्दै आफुहरुले सम्बन्धित अधिकारीहरुलाई जानकारी गराउने गरेको बताए।

तर जिल्ला प्रशासन कार्यालय कैलालीले भने दैनिक मृतकको संख्या बढ्दै गएकाले शव व्यवस्थापनको मापदण्डअनुसार नेपाली सेनाले काम गर्दै आएकोमा मृतकका आफन्तहरुले शव बुझ्न ढिलाई गर्ने अवस्थाका कारण समस्या भइरहेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको शव अस्पताल प्रशासनले लास घरमा राख्ने व्यवस्था मिलाइदिएको खण्डमा समयमै शव व्यवस्थापन गर्न सजिलो हुने बताए। उनले मृतकका आफन्तहरु समयमा आउन नसक्नु र उनीहरुको चाहना अनुसार शव व्यवस्थापन गर्नुपर्ने भएकाले ढिलाई भइरहेको समेत बताए।

जटिल समस्या भएर अस्पताल भर्ना भएका विरामीमध्ये अधिकांशको लामो समय वितिसक्दा पनि पीसीआर परिक्षण नगरिँदा विरामीका आफन्तले हैरानी खेप्नु परिरहेको छ। अस्पताल भित्र र वाहिर कोरोना भाइरसका विरामीले भरिभराउ भइरहँदा अक्सिन र बेड पाउन निकै सास्ती खेप्नु परेको हो।

अस्पताल बाहिर टाँगिएको पालमुनि आमाको उपचार गर्न डाक्टरको प्रतिक्षामा रहेका एक विरामी कुरुवाले विरामीको समयमा पीसीआर परिक्षण समेत नगरिदा हैरानी खेप्नु परेको गुनासो गरे। समयमा उपचार सेवा नपाउँदा कतिपय विरामीको मृत्यु समेत भइरहेको उनले बताए। कोरोना भाइरसका कारण अस्पतालको बेडमा मृत्यु भएकाहरुको शव समयमा व्यवस्थापन नहुँदा अन्य विरामीहरुलाई मनोवैज्ञानिक असर पर्ने गरेको अधिकारीहरुले बताएका छन्।

घण्टौसम्म मृत्यु भएकाहरुको शव बेडमा राखिँदा विरामी र विरामीका आफन्तलाई त्यसको सीधा असर परिरहेको अवस्थामा यो विषयमा सम्वन्धित निकाय मौन बस्नु नहुने बताउँदै आफ्नो नाम नबताउने शर्तमा एक अधिकारीले घण्टौसम्म अस्पतालको बेडमा रहेको शव व्यवस्थापन नहुँदा अन्य विरामीहरुलाई मनोवैज्ञानिक असर परिरहेको बताए।

अक्सिन र बेड नपाएकै कारण कयौँ विरामीको ज्यान गएको बताउदैँ उनले मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समेत लापरवाही भइरहेको गुनासो गरे। सुदूरपश्चिम प्रदेशभित्र अहिले १२ हजारको हाराहारीमा संक्रिय संक्रमित रहेका छन् भने  शुक्रबारसम्म तीन सय १७ कोरोना संक्रमितको ज्यान गइसकेको छ।

कोरोना महामारी नियन्त्रण बाहिर गइसक्दा पनि यसको उचित व्यवस्थापनका लागि तीनै तहका सरकारहरुबीच आवश्यक समन्वय नहुँदा कोरोनाले झनझन विकराल रुप लिइरहेको अधिकारीहरु बताउँछन्।

Last modified on 2021-05-15 15:53:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts