प्रदेश अस्पताल सुर्खेतले बिरामी भर्ना लिन नसक्ने
सुर्खेत, १ जेठ । अक्सिजनको अभाव भए पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप बिरामी भर्ना लिन नसक्ने भएको छ ।
प्रदेशकै भरोसाको अस्पतालका रुपमा रहेको यस अस्पतालमा अक्सिजनको आपूर्ति हुन नसके पछि भर्ना लिन नसकिने प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले जानकारी दिए । उनले सूचना जारी गरेर अक्सिजनको आपूर्ति हुन नसकेकोले अस्पतालमा थप बिरामी भर्ना लिन कठिनाइ भएको बताएकाहुन् ।
प्रदेश अस्पतालमा रहेका दुई वटा अक्सिजन प्लान्टमध्ये एउटा बिग्रेको छ । बिरामीको संख्या थपिँदै गएपछि अक्सिजनको अभाव भएको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले करिब ९० जनाको उपचार भइरहेको छ । यहाँ सुर्खेतसहित कर्णालीका अन्य जिल्लाबाट समेत गम्भीर बिरामी रिफर भएर आउने गरेका छन् ।
प्रदेश अस्पतालमा दैनिक तीन सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने भए पनि यहाँका उत्पादनले धानेर बाहिरबाट दैनिक एक सय ५० सिलिन्डर ल्याउनुपर्छ । तर अहिले नेपालगञ्जबाट दैनिक ५० सिलिन्डर मात्रै अक्सिजन आउने गरेको अस्पतालले जनाएको छ ।
नेपालगञ्जबाट अहिले अक्सिजन आउन कठिन भएकाले र यहाँको उत्पादनले नधान्ने भएपछि बिरामी भर्ना गर्न कठिन भएको छ ।