काँग्रेस उपसभापति गच्छदार पत्नीको सिरोसिसका कारण निधन
के हो सिरोसिस ? जानौं लक्षण र जोगिने उपायबारे
काठमाडौं, १ जेठ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारका श्रीमतिको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेकी गच्छदारका श्रीमति निर्मलाको आज बिहान निधन भएको हो ।
नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नर्भिक अस्पतालमा उपचाररत गच्छदार पत्नी निर्मलाको आज बिहान निधन भएको बताए ।
मिर्गौला र कलेजोको सम्बन्धी समस्या सिरोसिसले ग्रसीत निर्मलाको ६ महिना अघि भारतमा उपचार गरिएको थियो । नियमित फलोअपमा रहेकी निर्मलाले कोरोनाका कारण लामो समयदेखि अस्पताल जान पाएकी थिइनन् ।
अवस्था थप जटिल बन्दै गरेपछि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले बताएको छ ।
के हो सिरोसिस ?
मानव शरीरमा कलेजोले पित्त बनाउने काम गर्छ र यो पाचनप्रणालीको महत्वपूर्ण अंग हो । कलेजोले विष हरण गर्ने काम गर्छ । यसले शरीरमा भएको टकसिनलाई निकालेर शारीरिक प्रक्रियालाई अगाडि बढाउने काम गर्छ । रगत जम्ने प्रोटिन बनाउने काम कलेजोले गर्छ, जसले गर्दा रगत बग्न केही समयमा रोकिन्छ ।
कलेजोको अधिकांश भाग माथिल्लो पेटको दायाँ भागमा पर्छ । रक्सी र भाइरल संक्रमण कलेजोका लागि घातक हुनसक्छ । लामो समय अधिक रक्सी सेवन ( १० वर्षभन्दा धेरै ) तथा लामो समयसम्म भाइरल संक्रमणले कलेजोको आकार घट्दै जान्छ र यसले स्थायी रूपमा दाग बसाल्ने गर्छ, जुन दागका कारण कलेजोले काम गर्न सक्दैन । यो रोगलाई अंग्रेजी र मेडिकल भाषामा लिभर सिरोसिस भनिन्छ ।
लिभर सिरोसिस भएको बिरामीमा पछि गएर मिर्गौला र फियोलाई पनि स्थायी रूपमा क्षति पु¥याउन सक्छ । लिभरको क्यान्सर पनि गराउनसक्छ । यो रोगको स्थितिअनुसार रगतको जाँच, लिभरको कार्यक्षमताको जाँच, इन्डोस्कोपी, पेटको अल्ट्रासाउन्ड/सिटी इस्क्यान/एमआरआई र लिभरको बायोस्पी गर्नु राम्रो हुन्छ । सिरोसिस भएको व्यक्तिले रक्सी, जाँड नछोडेमा यसले मृत्यु नित्याउन सक्छ ।
विभिन्न औषधिको प्रयोगले नभएमा बिरामीलाई पछि डायलासिस र लिभर ट्रान्सप्लान्टको आवश्यकता पर्नसक्छ ।
लिभर सिरोसिसका कारण लिभर र कलेजो कडा हुँदै जान्छ । यसको कार्यक्षमता कम हुँदै जान्छ । पछि गएर कलेजो र पाचनप्रणाली नलीको बीचमा हुने रक्तनलीको प्रेसर धेरै हुने, फुट्ने र रगत बग्न नरोकिनेलगायत मानिसको मृत्युसम्म हुनसक्छ ।
लिभर सिरोसिसको भाइरल संक्रमणमध्ये हेपाटाइटिस सी महत्वपूर्ण कारक हो । हेपाटाइटिस बी र डीले पनि लिभर सिरोसिस गराउन सक्छ । अरू विभिन्न औषधि र स्व–असंक्राम्य/ओटोइम्युन रोगले पनि सिरोसिस गराउन सक्छ । कहिलेकाहीँ लिभरमा विभिन्न खनिज जम्मा भयो भने पनि सिरोसिस गराउन सक्छ, जस्तै– कपर, आइरन ।
सिरोसिसका लक्षण
खाना नरुच्ने, भोक नलाग्ने
नाकबाट रगत बग्ने
कमजोरी हुने
शरीर चिलाउने
शरीर पहेँलो हुने (जन्डिस)
अरू समस्या
पेटमा पानी जम्ने
खुट्टा सुनिने
पुरुषमा स्तन वृद्धि हुने (गाइनेकोमास्टिया )
प्रजननसम्बन्धी समस्या
मस्तिष्क अनियन्त्रित हुने
कलेजो सुन्निने
लिभर सिरोसिसबाट बच्ने उपाय
. जड र रक्सी सेवन नगर्ने
. सुरक्षित यौनसम्पर्क गर्ने (हेपाटाइटिस बी र हेपाटाइटिस सीबाट जोगिन)
. हेपाटाइटिस बीविरुद्धको वेग्सिन र खोप लगाउने
. सन्तुलित आहार
. दैनिक व्यायाम
(सिरोसिसबारे डा.विवेक सिंहको कुराकानीका आधारमा जानकारी)