नेपालसहित दक्षिण एसियाली मुलुकहरुमा कोरोना सङ्क्रमणको स्थिति निकै चिन्ताजनकः डा.टेड्रोस
बीबीसी, १ जेठ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हनोम घेब्रियसुसले दक्षिण एसियाली मुलुकहरुमा कोरोना सङ्क्रमणको स्थिति निकै चिन्ताको विषय बनेको बताएका छन् ।
शुक्रवार संगठनको नियमित कोरोनासम्बन्धी मिडिया ब्रिफिङ्गको क्रममा उनले दक्षिण एसियाली मुलुकहरु नेपाल, भारत, श्रीलंका लगायतका विभिन्न मुलुकमा कोरोनाको बढ्दो दर चिन्ताको विषय बनेको बताए ।
उनले भारतमा कोरोना सङ्क्रमणको स्थिति निकै चिन्ताजनक रहेको बताए । भारतका विभिन्न राज्यमा अहिले पनि कोरोनाको दर कम हुनुको साटो झन् बढ्दै जानु चिन्ताको विषय रहेको बताए ।
डा. टेड्रोसले भारतका विभिन्न राज्यमा अहिलेपनि अस्पतालमा बिरामी भर्नाका लागि पर्याप्त सुविधा नरहेको र मृत्यु हुने क्रम पनि जारी नै रहनु चिन्ताको विषय रहेको उल्लेख गरे ।
उनले कोरोनाको दोस्रो लहर पहिलो लहरको तुलनामा बढी खतरनाक र गम्भीर रहेको भन्दै महामारीविरुद्ध लड्नका लागि विश्व स्वास्थ्य संगठनले सहयोग गरिरहेको पनि बताए ।
भारतमा हजारौंको संख्यामा अक्सिजन कन्सेट्रेटर्स, मोबाइल फील्ड हस्पिटलका लागि टेन्ट, मास्क र अन्य स्वास्थ्य सामग्रीको आपूर्ति गरिरहको भन्दै उहाँले भारतमा अझै पनि निकै चिन्ताजनक अवस्था रहेको बताए ।
डा.टेड्रोसले नेपाल, श्रीलंका, भियतनाम, थाईल्याण्ड र मिस्र जस्ता मुलुकमा कोरोनाको बढ्दो दर चिन्ताको विषय बनेको भन्दै यी मुलुकहरुमा पनि स्वास्थ्य सेवाको अवस्था ठिक नरहेको पनि बताए ।
पछिल्लो समय नेपालमा पनि कोरोनाका कारण मृत्यु दर बढ्दै गएको, बिरामीहरुले समयमै अक्सिजन पाउन नसकेको, अस्पतालमा बेडको अभाव हुन थालेको विषय चिन्ताको विषय रहेको पनि उनको भनाइ छ ।
साथै उनले यी मुलुकमा पनि कोरोना महामारीविरुद्धको लडाईमा चाहिने आवश्यक स्वास्थ्य सामग्री आपूर्तिका लागि संगठनले सहयोग गरिरहेको पनि बताए ।