धनगढीमा नेपाली सेनाको अस्पतालाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने तयारी



Download our app to get more features

धनगढी, ३१ वैशाख । कैलालीको धनगढीमा नेपाली सेनाको अस्पतालाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने गरि तयारी बढाइएको छ ।

यसअघि नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी निर्माण थालिएको अस्पतालमा अब भने कोरोनाका बिरामीको बिरामीको औषधोपचार गर्ने गरि तयारी अगाडि बढाइएको हो । 

यतिबेला सुदूरपश्चिम प्रदेशका अस्पतालहरु कोरोना संक्रमितहरुले भरिएका छन् । प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालले प्राङ्गणमा राखेर पनि कोरोना संक्रमितको उपचार गर्दै छ । प्रदेशमा कोरोना संक्रमण भयावह भएपछि नेपाली सेनाको सुदूरपश्चिम पृतनाले कोरोनाका बिरामीलाई सेवा दिने गरी अस्पताल सञ्चालन गर्न तयारी बढाएको हो ।

यहाँका अस्पतालहरु संक्रमितले भरिन थालेपछि प्रदेश सरकारले बैशाख पहिलो सातादेखि स्थान खोजीमा लागेको थियो ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले अरु अस्पताल हुँदै गरेको बिरामीको चाप घटाउनलाई तीव्र गतिम तयारी अगाडि बढाएको जानकारी दिए । सुदूरपश्चिमका ४०/५० हजार कोरोना संक्रमितलाई सेवा दिने लक्ष्य राखिएको उनको भनाइ छ ।

सेनाको अस्पतालबाट कोरोना संक्रमितलाई उपचार दिन सुदूरपश्चिम सरकार आग्रह गरेको थियो । सेवा सञ्चालन गर्न प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोग समेत गरेको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले सेवा सञ्चालन गर्न प्रदेश कोरोना कोषबाट ३० लाख रुपैयाँ उपलब्ध गराएको जानकारी गराए ।

भौतिक संरचना निर्माण अझै पूर्ण नभएको, जनशक्ति र स्वास्थ्य सामाग्रीको अभावका कारण सञ्चालनमा ढिलाइ भएको सेनाले बताएको छ । 

यसअघि निर्माणाधिन सो अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रियालगायत सेवा पनि उपलब्ध गराइने योजना नेपाली सेनाको थियो । खासगरी नेपाली सेनाले सेना र तिनका परिवारलाई मात्रै उपलब्ध गराउने योजना अनुसार बनाउन लागेको बताइएको थियो । अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा निर्माण भइरहेको हो ।

Last modified on 2021-05-14 10:05:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts