अक्सिजनको व्यवस्थापन अब स्वास्थ्य मन्त्रालय आफैले गर्ने



Download our app to get more features

काठमाडौं, ३१ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि आफै अक्सिजन अभावको व्यवस्थापन गर्ने भएको छ । 

देशभर अक्सिजन अभावका कारण बिरामीहरुको मृत्यु हुन थालेपछि मन्त्रालयले आफ्नै नेतृत्वमा अक्सिजन व्यवस्थापन गर्ने भएको हो ।

बिहीबार मुख्य सचिवको नेतृत्त्वमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले आजबाट आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई आजबाट अक्सिजन व्यवस्थापन गर्ने भएको छ । 

यस्तै मन्त्रालयले अब मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८ अनुसार अक्सिजनको व्यवस्थापन गर्ने छ । 

यसअघि कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले अक्सिजन अभावको व्यवस्थापन गर्ने जिम्मा पाएको थियो ।

सहज अवस्थामा भने अस्पताल आफैंले अक्सिजनको जोहो गर्दै आएका थिए भने  अक्सिजनको अभाव सुरु भएपछि सीसीएमसीले अस्पतालहरुमा अक्सिजनको कोटा निर्धारण गरेको थियो । जसले गर्दा समस्या थप जटिल बन्दै गयो र अस्पतालहरुले बिरामी भर्ना नगर्ने भन्दै घोषणा गर्न थाल्यो । यसले समस्या थप गम्भीर हुने भन्दै स्वास्थ्य मन्त्रालयलाई नै अक्सिजन व्यवस्थापनको जिम्मा दिइएको हो ।

बैठकले स्वास्थ्य मन्त्रालयलाई गृह मन्त्रालय र स्थानीय प्रशासनले आवश्यक सहयोग गर्ने निर्णय पनि गरेको छ । निर्णय अनुसार कुन अस्पताललाई कति अक्सिजन दिने भन्ने निर्देशन आजबाट स्वास्थ्य मन्त्रालयले जारी गर्ने छ । 

Last modified on 2021-05-14 09:58:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts