चितवनमा एकैदिन ५० जनाले जिते कोरोना, जिल्लाभर निको हुनेको संख्या ७२ सय नजिक
चितवन, ३० वैशाख । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये गत २४ घण्टामा ५० जना निको भई घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचाररत् १७ जना, चितवन मेडिकल कलेजमा उपचाररत् २५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचाररत् ३ जना र पूर्वी चितवनको रत्ननगरमा रहेको गुञ्जमान सिंह हस्पिटलमा उपचाररत् ५ जना गरी जम्मा ५० जना निको भई घर फर्किएका हुन ।
८ जनाको मृत्यु
जिल्लाका विभिन्न अस्पतालमा उपचाररत् संक्रमित मध्ये गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।
योसँगै जिल्लाभर अहिलेसम्म कुल संक्रमित हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ । जसमध्ये ७ हजार १ सय ८५ जना निको भईसकेका छन् । संक्रमितमध्ये अहिलेसम्म एकसय ५४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत् १ जना, चितवन मेडिकल कलेजमा उपचाररत् ३ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचाररत् २ जना, अन्य अस्पतालमा उपचाररत् मध्ये एकजना र राप्ती नगरपालिमा होम आइसोलेसनमा रहेका एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४ जना चितवनका छन् भने बाँकी ४ जना विभिन्न जिल्लाबाट यहाँ उपचारका लागि आएका मध्येबाट छन् ।
जिल्लाभर ४ सय ७० जना उपचाररत्, २ सय ५६ जना आईसीयूमा
स्वास्थ्य कार्यालयका अनुसार अहिले जिल्लाका विभिन्न अस्पतालमा गरी ४ सय ७० जना उपचाररत् छन् । जसमध्ये २ सय ५६ जनाको आईसीयू र ५२ जनाको भन्टिलेटरमा उपचार चल्दै छ ।
चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा १५ जनाको आईसीयू, चितवन मेडिकल कलेज (सिएमसी) मा १ सय ५१ जनाको आईसीयू र ३७ जनाको भन्टिलेटरमा उपचार चल्दै छ ।
त्यस्तैगरी कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ८५ जना आईसीयू र १५ जना भन्टिलेटरमा उपचाररत् छन् । अन्य ६ जना भने जिल्लाका विभिन्न अस्पतालमा आईसीयूमा उपचाररत् रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी उपचाररत रहनेमा अन्य जिल्लाका संक्रमित समेत रहेका छन् ।
सक्रिय संक्रमितको संख्या झन्डै ३३ सय पुग्यो
स्वास्थ्य कार्यालय चितवनका अनुसार बिहीवार दिउँसोसम्म जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ३ हजार २ सय ९९ पुगेको छ । जसमध्ये २ हजार ६ सय ९ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी ६ सय ६ जना संक्रमित हुनेमा जिल्लाका अन्य छ स्थानीय तहका छन् ।
संक्रमित मध्ये ३ हजार ९८ जना होम आइसोलेसनमा छन् । त्यस्तै जिल्लाका १ सय ९९ जनाको अस्पताल भर्ना गरी उपचार गरिदैंछ ।
यसैबीच, चितवनमा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बिएको छ । दिन प्रतिदिन संक्रमित बढेसँगै प्रशासनले निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञालाई थप कडाइ गर्ने समेत प्रशासनले जनाएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।