सुदूरपश्चिमका नाकाहरूमा एन्टिजेन किट अभाव, परीक्षण बिनै सर्वसाधारणलाई घर पठाइँदै



Download our app to get more features

धनगढी, ३० वैशाख । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १० दिनअघि एक साताभित्र २० हजार किटको व्यवस्थाप हुने बताएको थियो । तर अझै सुदूरपश्चिम प्रदेशका नाकाहरू एन्टिजेन किटको सहज आर्पूति हुन सकेको छैन ।

नाकाहरूमा एन्टिजेन किटको अभाव भइरहँदा भारतबाट फर्किएका नेपालहरू मध्ये निकै थोरै संख्यामा मात्रा कोरोनाको परीक्षण हुने गरेको छ । सुदूरपश्चिम प्रदेशका सीमानाकाहरूमा भारतबाट फर्किने नेपालीहरूको संख्या झनझन बढीरहेपनि परीक्षणको दायरा भने झनझन कम हुँदै गएको हो । 

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाका गरी दैनिक १५ सयको संख्यामा नेपालीहरू भित्रिरहेका छन् ।  तीमध्ये गौरीफन्टा नाका भएर मात्र दैनिक १२ सय जना भित्रिरहेका छन् । तर औषत २ सयभन्दा पनि कमको संख्यामा मात्र परीक्षण हुने गरेको छ । 

गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले परीक्षणका लागि किटको अभाव भएपछि लक्षण देखिएकाहरूको मात्र परीक्षण हुने गरेको बताए । ‘गौरीफन्टा नाका भएर दिनहुँ करिब १२ सय जना भित्रिरहेका छन्, किटको चरम अभाव छ’ उनले भने, ‘हामीले दिनमा २ सय किट मात्र पाउने गरेका छौँ । जसकारण लक्षण देखिएकाहरूको मात्र परीक्षण गर्नसक्ने अवस्था छ । दैनिक सय/डेढ सय जनाको मात्र परीक्षण गर्न भ्याएका छौँ । ’

नाकामा परीक्षण गरिएकाहरू मध्ये कोरोना संक्रमित भेट्टिएकाहरूलाई धनगढीस्थित कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाउने गरिएको छ । तर परीक्षण नगरिएका र नेगेटिभ आएकाहरू सिधै गन्तव्यतर्फ लाग्ने गरेका छन् । यसरी भारतबाट कोरोना भाइरस सुदूरका गाउँगाउँ पुगेर स्थिति भयावह बन्ने चिन्ता बढेको छ । 

तर शत प्रतिशत परीक्षण गराउनतर्फ प्रदेशमा कुनै पनि पहल नभएको पाइएको छ ।  प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १० दिनअघि एक साता भित्र २० हजार किटको व्यवस्थाप हुने बताएको थियो। तर उक्त जोहो अझै हुन सकेको छैन । 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले अहिले केन्द्रमा ५ सय किट मात्र मौज्दात रहेको बताए । नाकाहरूमा समेत २/३ को संख्यामा किट मौज्दात रहेको उनले बताए । ‘स्वास्थ्य सेवा विभागबाट १२ सय किट पाएका थियौँ । नाकाहरू बाँड्यौँ । अहिले हामीसँग ५ सय किट मात्र मौज्दात छ’ उनले भने, ‘अहिले किटको अभाव छ ।’

२० हजार किटको लागि टेण्डर आह्वान गरिएपनि केही ढिलाई भएको उनले बताए । अहिले आपूर्तिकर्ताको टुङ्गो लागिसकेकाले जेठ पहिलो साता भित्र आपूर्ति हुने उनको भनाई छ ।

पछिल्लो एक सातामा गौरीफन्टा नाका भएर भारतका विभिन्न राज्यबाट झण्डै १० हजार नेपाली भित्रिएका छन् । तीमध्ये झण्डै १ हजार जनाको मात्र परीक्षण हुने गरेको छ ।

झण्डै २ सय जनामा कोरोना पुष्टि भएको छ। बाँकी बिना परीक्षण सोझै गाउँ पुगेका छन। उनीहरुसँगै कोरोना समेत गाउँगाउँ पुगेको छ ।

Last modified on 2021-05-13 18:15:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts