झापामा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु
झापा, ३० बैशाख । झापामा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसमा नौजना झापा र दुईजना जिल्ला बाहिरका छन्। मेचीनगर नगरपालिका र भद्रपुरका भद्रपुर नगरपालिका तीन र तीन जनासहित नौजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिकाका एकर एकजना रहेका छन्। मेचीनगर-६ का ६० वर्षीय र १० का ६६ वर्षीय पुरुषको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो। मेचीनगर-१० कै ३९ वर्षीया महिलाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो।
कोरोनाको दोस्रो लहर सुरु भएयता मेचीनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। मेचीनगर ६ मा मात्रै चार जनाको मृत्यु भएको हो। त्यसैगरी मृत्यु हुनेमा भद्रपुर-९ की ८८ वर्षीया बृद्धाको होम आइसोलेसनमा, भद्रपुर-४ का ४९ वर्षीय संक्रमितको नोवेल हस्पिटल विराटनगर र सोही वडाका ४८ वर्षीय पुरुषको मेची अस्पतालमा मृत्यु भएको हो।
योसँगै भद्रपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। त्यस्तै कनकाई नगरपालिका-७ का ६० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो।
त्यस्तै बिर्तामोड-१ की ५३ वर्षीया महिलाको बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो। योसँगै दोस्रो लहरको संक्रमणका कारण बिर्तामोडमा पाँचजनाको मृत्यु भएको छ। कचनकवल-५ का ७० वर्षीय बृद्धको मेची प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। योसँगै झापामा संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १७० पुगेको छ।
दमकमा दुईजना संक्रमितको मृत्यु भएको छ। दमक कोभिड अस्पतालमा मोरङ राजघाटकी ४६ वर्षीया महिला र आम्दा अस्पताल दमकमा रुपन्देहीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।