ट्रमा सेन्टरले रातभरि खोज्दा पनि पाएन अक्सिजन, १०५ जना बिरामीको अबस्था जोखिममा

काठमाडौं, ३० बैशाख । काठमाडौंको ट्रमा सेन्टरमा अक्सिजन अभाव हुँदा एक सय ५ जना विरामीको ज्यान जोखिममा परेको छ । रातभरि विभिन्न ठाउँमा गएर अक्सिजन खोज्ने प्रयास गरे पनि सफल नभएको कोरोना व्यवस्थापन समितिका सदस्यले भुवन केसीले बताएका हुन ।
"ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेल सहितको टोलिले विभिन्न ठाउँमा गएर एम्बुलेन्समार्फत अक्सिजन जोहो गर्ने प्रयास गर्यौ," तर कतै पनि पाइएन हामीकहाँ रहेका एक सय ५ जना बिरामी जोखिममा हुनहुुन्छ’, कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले भने ।
ट्रमा सेन्टरले अक्सिजन ल्याउने शंकर अक्सिजन उद्योग बालाजुमा रातभरि कुर्दा पनि अक्सिजन पाउन नसकिएको उनले बताए । भर्ना भएका एक सय ५ जनालाई नै हाइ फ्लो अक्सिजन दिनुपर्नेमा अहिले न्यूनतम मात्रामा दिएर राखिएको र आठ बजेपछि ठप्पै हुने अवस्था रहेको जानकारी उनले दिए ।
ट्रमा सेन्टरमा दैनिक चार सय सिलिण्डर अक्सिजन चाहिनेमा सीसीएमसीले १ सय ५० वटाको कोटा तोकिदिएको र एक सय ५० वटा सिलिण्डर पाउन पनि मुस्किल रहेको केसीले बताए ।
नेपालमा अक्सिजनको अभावसँगै धेरै अस्पतालले बिरामी भर्ना गर्न नसक्ने विज्ञप्ति निकालिरहेका छन्। सरकारले तोकेको कोटा प्रणाली पनि वैज्ञानिक नभएको उनीहरुको दावि छ। पछिल्लो समय संक्रमितको संख्या बढेसँगै अक्सिजन अभावले गम्भीर बिरामीको संख्या बढेको छ। जसले गर्दा मृत्युदर पनि बढेको छ।