हप्तादिनसम्म पनि आउँदैन सेतीमा दिएको स्वाबको रिर्पोट
धनगढी, २९ बैशाख । धनगढी उपमहानगरपालिका २ सन्तोषी टोलका सुनिल खड्काले ज्वरो र रूघाखोकी जस्ता समस्या देखिएपछि गत सोमबार९२० गते० धनगढी उपमहानगरपालिकाको स्वाब संकलन केन्द्रमा स्वाब दिएका थिए। तर सेती प्रादेशिक अस्पतालले ६ दिनपछि मात्र रिपोर्ट दिएको उनले बताए।
‘मैले सोमबार धनगढी उपमहानगरपालिकाको स्वाब संकलन केन्द्रमा स्वाब दिएको थिएँ, अस्पतालले ६ दिनपछि मात्र रिपोर्ट दियो’ उनले भने, ’कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई हुँदा निकै मानसिक तनाव हुन्छ। रिपोर्ट नआएसम्म उपचारको लागि अस्पताल पनि जान सकिन्न।’ अहिले उनको रिपोर्ट पोजेटिभ आएको छ। उनी होम आइसोलेशनमा बसेका छन्।
स्वाब दिएको एक सातासम्म पनि अस्पतालले कोरोना परीक्षणको रिपोर्ट नदिएको कोरोनाका सम्भाव्य संक्रमितहरूले गुनासो गरेका छन्। रिपोर्ट नआउँदासम्म उपचारको प्रक्रिया नथाल्दा संक्रमितको अवस्था समेत जटिल बन्दै गइरहेको पाइएको छ।
सामान्यतया सेती प्रादेशिक अस्पतालले कोरोना परीक्षणको रिपोर्ट एक÷दुई दिनमा दिने गरेको थियो। तर पछिल्लो समय रिपोर्ट आउनमा हप्ता दिनसम्म लाग्ने गरेको गुनासो गरिएको हो।
तर सेती प्रादेशिक अस्पतालले भने परीक्षणका लागि आउने नमूनाको संख्या निकै बढेकोले परीक्षणमा ढिलाई भइरहेको बताएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला प्रमुख रमेश शाहीले जनशक्ति साविक बमोजिम नै रहेको तर प्रयोगशालामा आउने नमूनाको संख्या बढेकोले परीक्षणमा ढिलाई भइरहेको बताए।
एकातिर रिपोर्ट आउन ढिलाई हुँदा सम्भाव्य संक्रमितहरूमा मानसिक तनाव बढेको छ भने, अर्कोतिर स्वास्थ्य समस्या देखिएपनि रिपोर्ट पर्खेर बस्ने र अस्पताल नजाने व्यवहार देखिएको छ। फलस्वरूप उनीहरूको अवस्था जटिल बन्दै गएको पाइएको छ।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निशान भट्टराईले रिपोर्ट नआएपनि स्वास्थ्य समस्या देखिए तुरून्त उपचार थाल्न सुझाव दिएका छन्।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा हाल ६ जना जनशक्ति मात्रै छन्। ६ जनाको भरमा प्रयोगशाला चौबिसैं घण्टा सञ्चालन गर्नुपर्ने बाध्यता छ। प्रयोगशाला प्रमुख रमेश शाहीले जनशक्ति थप्ने प्रक्रिया सुरू भएको र जनशक्ति थपिए परीक्षणको दायरासमेत बढ्ने बताए।
अहिले सुदूरपश्चिममा नयाँ प्रकारको कोरोना भाइरस समूदाय स्तरमा फैलिसकेको छ। कोरोना भाइरसको थप फैलावट रोक्न कडा निषेधाज्ञा र संक्रमितहरूको पहिचान गरी उनीहरूलाई आइसोलेट गर्नुपर्ने हुन्छ। सरकारले निषेधाज्ञा त जारी गरेको छ तर परीक्षणको दायरा भने बढाउन सकेको छैन।
कोरोना परीक्षणको दायरा छिटोभन्दा छिटो बढाइएन भने कोरोना झनै विकराल रूपमा फैलिने चिन्ता गरिएको छ।