नेपाल चिकित्सक सङ्घद्वारा देशभर 'रेड अलर्ट' घोषणा
काठमाडौं, २९ बैशाख । नेपाल चिकित्सक सङ्घले 'रेड अलर्ट' घोषणा गरेको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि सङ्घले नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको निष्कर्षका साथ बुधवार देशभर 'रेड अलर्ट' घोषणा गरेको हो ।
बढ्दो सङ्क्रमितको सङ्ख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै सङ्घले सरकार, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र सर्वसाधारणलाई एकजुट भएर महामारीविरुद्ध लड्न अपिल पनि गरेको छ । सङ्क्रमितहरू अस्पताल आउन नपाएको, आएकालाई अस्पतालले फर्काएको, बचाउन सक्ने अवस्था हुँदा हुँदै अक्सिजनको अभावमा बिरामीको ज्यान जाने गरेका लगायत हृदय विदारक दृश्यहरू देखिनु निकै पीडादायी भएको भन्दै सङ्घले नागरिकको जीवन रक्षा भन्दा ठूलो अरू नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
सङ्घले कोभिडको पहिलो लहरमा नै आवश्यक स्वास्थ्य व्यवस्थाका तयारी नगर्ने हो भने भयावह अवस्था आउन सक्छ भनेर निरन्तर झकझकाइरहे पनि सरकार, राजनीतिक दललगायत सरोकारवाला गम्भीर नबन्दा ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाउनुपरेको जनाएको छ ।
सङ्घका महासचिव डाक्टर बद्री रिजालले महामारी भयावह बन्दै गएकाले राजनीतिक जोड–घटाउलाई बन्द गरी सरकारसँगै सबै वर्ग र तप्का महामारीविरुद्धको लडाइँमा एकजुट हुन आह्वान गरिएको बताए । उनले महामारीमा नागरिकको जीवन रक्षा गर्न सङ्घले देशभर रेड अलर्ट घोषणा गरी सबैलाई कोभिडविरुद्धको लडाइँमा एकत्रित हुन अपिल गरे ।
सङ्घले स्वास्थ्य क्षेत्रमा देखिएका अभाव तुरुन्तै सम्बोधन गर्न र उपचारमा आवश्यक पर्ने अक्सिजन, बेड लगायत अत्यावश्यक सामग्रीको उपलब्धता गराइ नागरिकको जीवन रक्षा गर्न आग्रह गरेको पनि उनले बताए ।
महासचिव रिजालले विषम परिस्थितिमा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिएका चिकित्सकमाथि हातपात भएको र त्यस्ता घटनाले चिकित्सकको मनोबल उच्च रहन नसक्ने भएकाले यस्ता घटना रोक्न र संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेकाछन् । ।