गेटामा बनेन २ हजार शय्याको आइसोलेसन, ४० बेड सञ्चालन गर्नपनि मुस्किल



Download our app to get more features

धनगढी, २९ बैशाख ।  कैलालीको गेटामा निर्माणाधिन मेडिकल कलेज भवनमा २ हजार बेड क्षमताको आइसोलेसन बनाउने भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मातहतमा सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा आइसोलेसन निर्माण गर्ने निर्णय गरियो। 

तर जनशक्ति र अक्सिजनको टुंगो नलाग्दा अहिले ४० बेडको आइसोलेसन बनाउन समेत समस्या भइरहेको छ। सस्तो लोकप्रियताका लागि २ हजार बेड क्षमताको आइसोलेसन निर्माणको प्रचार गरेका अधिकारीहरु भने अहिले आएर ४० बेड क्षमताको आइसोलेसन बनाउन समेत मुस्किल परिरहेको भन्दै जिम्मेवारीबाट पन्छिने गरेको पाइएको हो।

सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाले आइसोलेसन बनाउने जिम्मेवारी लिएपनि निर्माण स्थलको प्रगति हेर्दा तत्काल ४० बेड समेत सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बताए। ‘४० बेड तयार गरेर राखिसकिएको छ, अक्सिजनको टुंगो नलाग्दा सञ्चालन गर्न मुश्किल भइरहेको छ’ उनले भने। 

१ सय बेडबाट भएपनि १÷२ दिनभित्रै आइसोलेसन सञ्चालनमा आउने धनगढी उपमहानगरपालिकाले यसअघि बताएको भएपनि मंगलबार निर्माणस्थलमा पुग्दा ४० बेड मात्र राखिएको पाइएको छ। निर्माण स्थलको प्रगति हेर्दा २ हजार बेड बनाउन २ वर्ष लाग्ने देखिन्छ। तर आइसोलेसन निर्माण अन्तिम चरणमा पुगेको बताउँदै यसअघि धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले एक दुईदिनभित्रै सञ्चालनमा आउने दाबी गरेका थिए। 

उनले तत्काल १ सय बेड क्षमताको भएपनि आइसोलेसन सञ्चालन गर्ने बताएका थिए। तर कार्य क्षेत्रको प्रगति हेर्दा ४० बेड सञ्चालन गर्न अधिकारीहरु पन्छिन खोजेको स्थानीयको आरोप छ।  

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी आइसोलेसन तयार गर्ने भन्दै जिम्मेवारी वाँडफाँड गरिएको भएपनि प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको काम गराइको कार्यशैलीलाई हेर्दा प्रचार गरिए जसरी आइसोलेसन सञ्चालन हुनेमा जिल्ला प्रशासन कार्यालय समेत विश्वस्त देखिँदैन। 

अक्सिजन र जनशक्तिको टुंगो नलाग्दा आइसोलेसन कुनैपनि हालतमा सञ्चालन गर्न सकिने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए। आइसोलेसन बनाउने भनिएर यसअघि गरिएको प्रचार अनुसार प्रगति हुन नसकेको प्रशासनको भनाई छ।
विषय विज्ञहरुसँग छलफल र परामर्श नगरी हतारमा गरिएका निर्णयहरु यसैगरी असफल भएका कयौँ उदाहरणहरु छन्। 

श्रोतको सुनिश्चितता र जनशक्तिको समयमै व्यवस्थापन गरेर यस्तो महामारीको बेला निजी क्षेत्रसँग समेत सहकार्य गरेर गेटामा मात्र होइन धनगढीको सैनिक अस्पताल, विद्यालय भवन र अन्य निजी तथा सार्वजनिक खाली भवनलाई प्रयोगमा ल्याएर भएपनि संकटको सामना गर्नेतर्फ ध्यानदिन आवश्यक देखिने विज्ञहरुले बताएका छन्।

Last modified on 2021-05-12 18:06:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts