स्वास्थ्य सामग्री लिन चीन गएको वायुसेवा निगमको जहाज आज नेपाल फर्कदै
काठमाडौं, २८ वैशाख । स्वास्थ्य सामग्री लिनका लागि चीन गएको नेपाल वायुसेवा निगमको जहाज आज नेपाल फर्कदैछ ।
चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री आज वायुसेवा निगमको जहाजबाट काठमाडौं आइपुग्ने छ ।
अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान सोमवार बेइजिङ पुगेको थियो ।
विमानले पहिलो खेपमा चार सय वटा सिलिन्डर ल्याउने छ । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा गरिसकेको छ ।
यस्तै भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री भने स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने बताइएको छ ।
स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।
यसैबीच, सरकारले कोरोनाविरुद्ध चीनियाँ खोप खरिदका लागि पहल सुरु गरेको छ । परारष्ट्र मन्त्रालयले चीनबाट थप २० लाख डोज खोप खरिदका लागि पहल सुरु गरेको हो ।