नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो, निको हुनेदर ७६ प्रतिशत
काठमाडौं, २७ वैशाख । नेपालमा गत २४ घन्टामा ९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २ दिनदेखि ८ हजारमा झरेको कोरोना संक्रमणदर सोमवार फेरि बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १८ हजार ४ सय ११ कोरोना परीक्षण गर्दा ९ हजार २ सय ७१ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संिख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणमुक्त हुने दर भने सुधार भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ४ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाका कारण संक्रमितभएका मध्ये निको हुनेको संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ । यो दर कुल संक्रमितको ७६ प्रतिशत हो ।
हाल नेपालभर ९३ हजार १ सय ४१ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८६ हजार ४ सय २६ जना होम आइसोलेसनमा छन् भने ६ हजार ७ सय १५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।