चिकित्सा शिक्षा आयोगले स्नातक तहको परीक्षा तत्काल नलिने
काठमाडौं, २७ बैशाख । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तह (ब्याचलर)को प्रवेश परीक्षा तत्काल नलिने भएको छ। आयोगले एकीकृत परीक्षाको तयारी अगाडि बढाए पनि कोभिड संक्रमण बढ्दै गएका कारण तत्काल परीक्षा नहुने भएको हो।
आयोगको परीक्षा निर्देशनालयका अनुसार संक्रमणको दर घटेर निषेधाज्ञा आदेश निस्क्रिय भएको अवस्थामा मात्र परीक्षा सञ्चालन हुने छ।
परीक्षा निर्देशालयले अवस्था सामान्य भएपछि परीक्षा सम्बन्धि सूचना प्रकाशित गर्ने जनाएको छ। एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, फार्मेसी लगायतका विषयका परीक्षाको तयारीमा रहेका विद्यार्थीले परीक्षाका विषयमा जिज्ञासा राख्दै आएका कारण निर्देशनालयले परीक्षा कार्यक्रम पछि सार्वजनिक गर्ने निर्णय गरेको हो।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रले वैशाख २० गते शिक्षा मन्त्रालयमा पठाएको पत्रमा कोभिड संक्रमणको दर सामान्य अवस्थामा आएको खण्डमा र सरकारबाट निषेध आदेश निस्क्रिय भएमा मात्र परीक्षा सञ्चालन हुन सक्ने व्यहोरा उल्लेख भई आएकाले सोही अनुसार एकीकृत परीक्षा तत्काललाई स्थगन गरेको निर्देशनालयले जनाएको छ।
परीक्षाका लागि आयोगले अनलाइन फारम भर्ने व्यवस्था गरेको थियो।