२ हजार बेडसहितको आइसोलेसनमा बनाउने भनेर घोषणा गरिएको गेटामा २९ बेड मात्रै
धनगढी, २७ बैशाख । कैलालीको निर्माणाधिन गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन बनाउने भनिएको भवनमा आइतबार दिउँसो पुग्दा सुनसान थियो। २ हजार बेड क्षमताको आइसोलेसन स्थापना गरिने भन्दै व्यापक प्रचार गरिएको छ। केही समय त झनै केन्द्र, प्रदेश र स्थानीय सरकारबीच जस र उपजसको लडाइ नै भयो। तर हाल एउटा हलमा २९ वटा बेड मात्रै राखेको पाइएको हो।
आइसोलेसन निर्माणको काम पूरा भएको दाबी गरिएपनि त्यहाँको अवस्थाले तत्काल आइसोलेसन सञ्चालन हुन नसक्ने देखिएको हो। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले अरु संरचना निर्माणको तयारी भएको तर तत्काल जनशक्ति व्यवस्थापन र अक्सिजनको व्यवस्थापन नहुँदा सञ्चालनमा ढिलाइ भएको बताए।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मातहत रहने गरि सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा आइसोलेसन निर्माण कार्य थालिएको हो। कहिले २ हजार कहिले १ हजार त कहिले ५ सय बेड भन्दै काम भन्दा आफ्नो प्रचार गर्नमा मात्र केन्द्रित देखिएका हुन।
तर गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदको भनाइ भने फरक छ। उनले कोरोना महामारीका कारण बेड र अक्सिजन नपाएर दैनिक ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको अवस्थामा सुरुवाती चरणमा १ सय बेड क्षमताको भएपनि गेटामा आइसोलेसन सञ्चालनका लागि काम भइरहेको बताए। तर अक्सिजन र जनशक्ति अभावका कारण चाहेर पनि आइसोलेसन निर्माणमा ढिलाइ भइरहेको उनको भनाइ छ।
कोरोना भाइरसले महामारीको रुप लिइरहेको अवस्थामा केन्द्र, प्रदेश र स्थानीय सरकारले कोरोना व्यवस्थापन र आइसोलेसन निर्माणमा जोड दिनुको सट्टा हुँदै नभएका कामहरुको प्रचार गरेर दिनचर्या बिताएको आमसार्वसाधारणको गुनासो छ।