अक्सिजन सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज चीन जाँदै
काठमाडौं, २७ वैशाख । मुलुकमा अक्सिजनको अभाव हुँदै गर्दा अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको जहाज आज चीन जाँदैछ ।
कोरोना भाइरस सङ्क्रमित बढेसँगै अक्सिजन र सिलिण्डर अभाव भएपछि चीनबाट अक्सिजन सिलिन्डर ल्याउनका लागि निगमको वाइड बडी ३३० जहाज आज बेइजिङ जान लागेको हो ।
जहाज आज राती साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र भोलि दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।
उनका अनुसार नेपाल एयरलाइन्सले स्वास्थ्य मन्त्रालयको समन्वयमा बेइजिङबाट ४ सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याइने छ ।
नेपाल सरकारले चीनबाट २० हजार सिलिण्डर ल्याउने बताए पनि अहिले एक पटकका लागि मात्र सरकारबाट पत्र आएको प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले चीनबाट अक्सिजन सिलिण्डर ल्याउनका लागि भाडादर नतोकिएको पनि बताए ।