राष्ट्रिय ट्रमा सेन्टरमा शुरु भयो कोरोना उपचार
काठमाडौं, २६ बैशाख । राष्ट्रिय ट्रमा सेन्टरमा आईतबारबाट (आज) कोभिड – १९ का बिरामीले उपचार पाउन थालेका छन् । ट्रमा सेन्टरले आफ्नो नियमित सेवालाई वीर अस्पताल तर्फ सिफ्ट गर्दैै आजैबाट कोभिड – १९ को बिरामी भर्ना गर्न थालेको हो ।
ट्रमा सेन्टर सेन्टरका निर्देशक सन्तोष पौडेलले अहिलेसम्म वीर अस्पतालको आकस्मिक कक्षमा आएका १० जना बिरामी भर्ना भइसकेको भन्दै थप विरामी विस्तारै लिँदै जाने बताए । उनले यसअघि भर्ना भएका ट्रमाका सबै बिरामीलाई सार्नु पर्ने भएकोले पुरा क्षमतामा बिरामी भर्ना लिन एक दुई दिन समय लाग्ने बताए ।
ट्रमा सेन्टरले कम्तीमा २०० शैय्याको कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
उपत्यकामा दिनहुँ कोभिडका संक्रमित बढ्दै जाने र अक्सिजन अभाव हुने अवस्था आएपछि आफ्नै लिक्वड अक्सिजन प्लान्ट भएको ट्रमा सेन्टरले तत्कालका लागि आफ्ना बिरामीलाई अन्यत्रका अस्पतालमा सारेर कोभिडका बिरामीको उपचार गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीलाई वीर अस्पताल र अत्तरखेल अस्पतालमा सिफ्ट गरेर ट्रमा सेन्टरमा कोभिडको उपचार हुने सूचना जारी गरेको थियो ।
ट्रमामा विहानसम्म ६४ जना बिरामी रहेको र त्यसमध्ये ३२ जना शल्यक्रिया गर्नुपर्ने बिरामी रहेको अस्पतालले जनाएको छ । शल्यक्रिया गर्न बाँकी रहेका बिरामीको वीरमै शल्यक्रिया गर्ने गरी योजना बनाइदै गरिएको डा. पौडेलले बताए ।
यसअघि शनिबारको मन्त्रिपरिषद बैठकले वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई ५०० बेडको कोभिड डेडिकेटेड अस्पतालको रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।