सुदूरपश्चिमका अस्पतालमा अक्सिजन प्लान्ट जोड्ने योजना अलपत्र



Download our app to get more features

धनगढी, २६ वैशाख । गत हप्ता उपचारका लागि भारतको दिल्ली गएका बैतडीका लोकेन्द्र जोशीलाई धनगढी फर्किएपछि कोरोना भाइरसको संक्रमण पुस्टि भयो ।

जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाका प्रमुख एवंम् वरिष्ठ कबिराज (निरीक्षक) जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार थालियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार सुरु भयो । 

तर सेतीको आईसीयूमा समेत अक्सिजनको अभाव थियो । उनका आफन्तहरुले शुक्रबार दिनभरी अक्सिजन खोजे । धनगढीको मालिका अक्सिजन उद्य्रोगमा ६/७ पटक उनीहरुले धाए ।  

उद्योगले शुक्रबार राति सानो सिलिण्डर ग्याँस दियो। तर शनिबार बिहान ४५ वर्षीय जोशीको अक्सिजन अभावकै कारण मृत्यु भएको आफन्तहरु बताउँछन् ।
 
धनगढी लगायत प्रदेशका अस्पतालहरुमा अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुले दैनिक ज्यान गुमाउनु परिरहेको छ । तर सुदूरपश्चिम प्रदेश सरकारको जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने योजनाहरु कार्यान्वयनमा ढिलाइ भएको छ । 

जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आर्दश लिम्बुले प्रदेश सरकारको बजेटमा अक्सिजन प्लान्ट जडानका लागि बोलपत्र खोल्ने तयारीमा रहेको बताए। उनले भने, “हामीले आपूर्तिकर्तासंग छलफ गरिरहेका छौं । ४/५ वटा सम्पर्कमा आएका छन् । उहाँहरुले आपूर्ति गर्न सकिन्छ भनेका छन् । केहि दिनमा बोलपत्रको सूचना सार्वजनिक गर्छौ ।”

सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुले कोरोना संक्रमितहरुका लागि अति आवश्यक मानिएको अक्सिजनको प्लान्ट जडानमा ढिलाई गरेका छन् । सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमा प्रदेश सरकारले अक्सिजन प्लान्ट जडानका लागि बजेट सुनिश्चिताको पत्र पठाएपनि जडानमा ढिलाइ गरिएको हो । 

जिल्ला अस्पताल डोटीका डाक्टर कृष्ण जोशीले नयाँ अक्सिजन प्लान्ट जडानका लागि छलफल गर्नै बाँकी रहेको बताए । उनले भने, “कोरोना संक्रमितको उपचारमा हामी छांै। नयाँ प्लान्ट जडानका विषयमा छलफल समेत गर्न पाएका छैनौ । अबको केहि दिनमा हुन्छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले पत्र पठाएको झण्डै एक महिना हुँदापनि अक्सिजन प्लान्ट जडानका लागि जिल्ला अस्पतालहरुले प्रक्रिया समेत सुरु नगरेका हुन् । प्रदेशका अस्पतालहरुमा कोरोना संक्रमितहरुले अक्सिजन नपाएर ज्यान गुमाउँदैछन् ।
 
सेती प्रादेशिक अस्पतालसंगै प्रत्येक जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने योजना भएपनि ढिलाइ भएको छ । 
बैशाख ६ गते प्रत्येक जिल्ला अस्पतालहरुलाई ८० लाखका दरले रकम सुनिश्चिताको पत्र समेत पठाइएको छ । 

तर जिल्ला अस्पतालहरुले अक्सिजन प्लान्ट जडानको कुनै प्रक्रिया थालेका छैनन् । अक्सिजन प्लान्ट जडानका लागि आपूर्तिकताको खोजी थालिएको जिल्ला अस्पताल अछामका प्रमुख अच्युुत भारध्वाजले बताए । 

आफ्नै अक्सिजन प्लान्ट भएका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल तथा धनगढीका निजी अस्पतालहरु र अन्य जिल्ला अस्पतालहरुमा अक्सिजनको अभावले संक्रमितहरुले ज्यान गुमाउन बाध्य छन् । 

स्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई अक्सिजन अनिवार्य चाहिने भए पनि जिल्ला अस्पतालहरुले जडानमा ढिलाइ गरेका हुन् ।
 
जिल्ला अस्पतालहरुलाई अक्सिजन प्लान्ट जडानका लागि ८० लाखका दरले रकम दिएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि भने १करोड १६ लाख बजेट दिएको छ । 

सेती प्रादेशिक अस्पतालले ९० हजार किलोग्राम अक्सिजन जम्मा गर्न सकिने सिलिण्डर खरिदका बोलपत्र आह्वान गरेको छ । 

७ दिनको बोलपत्र २३ गते सार्वजनिक गरिएको सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए ।

उनले भने, “जिल्ला अस्पतालहरुलाइ प्लान्ट जडानका लागि बजेट पठाएका छौ । चाँडो खरिद गर्नुस् भनेका छौं । सेतीमा पनि बजेट पठाएका छौ । सेतीमा सूचना समेत सार्वजनिक गरिएको होला ।”

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव छ । ९० हजार किलोग्रामको सिलिण्डर खरिदपछि अभाव नहुने अपेक्षा गरिएको छ। तर अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको स्तरवृद्धिको योजना भने प्रदेश सरकारसँग छैन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts