घरबिदामा नबस्न सरकारको निर्देशनको अवज्ञाः सेती अस्पतालका कोभिड विभाग प्रमुख कमर बिदामा



Download our app to get more features

धनगढी, २६ वैशाख । कोरोना कहरको दोस्रो लहरपछि सेती प्रादेशिक अस्पताल धनगढी यतिबेला अभावै अभावमा गुज्रिरहेको छ ।

सेतीकै कोरोना अस्पतालमा हाल ५४ जना संक्रमित उपचाररत छन् भने, सेतीकै आकस्मिक कक्षमा ३२ जना कोरोनाका शंकास्पद बिरामी उपचाररत छन् । 

शंकास्पद बिरामीलाई पनि कोरोनाकै बिरामीलाई दिइने औषधि चलाइएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । तर, महामारीकाबीच अभाव झेलिरहेको अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमर भने यतिबेला घर बिदामा बसेका छन् ।

डाक्टर कमरकी पत्नीलाई कोरोना संक्रमण पुस्टि भएपछि उनी घर बिदाको क्रममा हाल काठमाडौंमा रहेको अस्पतालका प्रशासन अधिकृत दिलिप सिंह साउँदले जानकारी दिए ।

साउँदका अनुसार डाक्टर कमर बैशाख ८ देखि १२ गतेसम्म कार्यालयलाई लिखित पत्रमार्फत जानकारी गराएर बिदामा बसेका थिए । तर उनी हालसम्म फर्किएका छैनन्। बैशाख १३ गतेदेखि डाक्टर कमर मौखिक जानकारी गराएर घर बिदामा बसेका हुन् ।

डाक्टर कमरले बिरामी धर्मपत्नीलाई घरकै आइसोलेसनमा राखिएको बताएका छन् ।  अहिलेसम्म बेलाबेलामा अक्सिजन सहायतामा राखेर उपचार जारी राखेको उनले जनाए। तर जारी लकडाउनका कारण काममा फर्किन सकिने अवस्था नरहेको उनले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै कर्मचारीलाई अत्यावश्यक बाहेकको घर बिदामा नबस्न परिपत्र गरेको छ। साथै सरकारले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई पनि कार्यक्षेत्रमा फर्किन भनिसकेको छ ।

Last modified on 2021-05-10 08:55:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts