अस्पताललाई अक्सिजन दिन स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य
काठमाडौं, २६ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पातलहरुमा अक्सिजन उपलब्ध गराउन आफ्नो सिफारिस अनिवार्य गरेको छ ।
मन्त्रालयले अक्सिजन उद्योगीहरुलाई परिपत्र गर्दै कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई मन्त्रालयको सिफारिस बिना अक्सिजन नदिन भनेको हो । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले १० वटा अक्सिजन उद्योगलाई पठाएको पत्रमा धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा बिक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको उल्लेख छ ।
सरकारको पत्रसँगै उद्योगीहरुले अक्सिजन लिन गएका अस्पतालहरुलाई मन्त्रालयको सिफारिस लिएर आउनु भन्दै फर्काउन थालेका छन् । मन्त्रालयको परिपत्रसँगै आफ्नो अक्सिजन प्लान्ट नभएका अस्पतालहरुले अक्सिजन अभावमा उपचार गर्नै कठिन भएको बताएका छन् । हिजो चाबहिल क्षेत्रमा रहेका मेडिकेयर अस्पताल, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले संयुक्त विज्ञप्ति निकालेर अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा सङ्क्रमितको उपचार गर्न नसकिएको बताएका छन् ।
ती अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसकिने पनि प्रष्ट पारेका छन् । सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने बताए पनि काठमाडौं लगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई सङ्क्रमितको मृत्यु भएको थियो ।
काठमाडौंका धेरै अस्पतालहरुले अक्सिजन अभाव भएको बताएका छन् । अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा ल्याइने बताएका छन् ।