सेती अस्पतालमा अक्सिजन बैंक स्थापना हुने



Download our app to get more features

धनगढी, २५ वैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा अक्सिजन बैंक स्थापना गरिने भएको छ । 

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ९० हजार किलोग्राम अटाउने अक्सिजन बैंक अर्थात सिलिण्डर खरिदका लागि बोलपत्र आह्वान गरिएको हो । वैशाख २३ गते ७ दिनका  लागि बोलपत्र आह्वान गरिएको सूचना सार्वजनिक गरिएको श्रेष्ठले बताए । 

सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट छ । तर सिलिण्डरको अभावका कारण कोरोना संक्रमितहरुले अक्सिजन पाएका छैनन् । प्रादेशिक अस्पतालका सबै शय्या र कोरोना अस्थायी अस्पतालमा प्लान्टको पाइपहरु जोडिएको छैन् ।

प्रादेशिक अस्पतालमा ९० हजार किलोग्राम क्षमताको सिलिण्डर स्थापना भए कोरोना संक्रमितलाई अक्सिजन दिन सहज हुने प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए । उनले सेती प्रादेशिक अस्पताललाई सिलिण्डर चाँडो खरिद गर्न भनेको बताए । 
 
सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई १ करोड १६ लाख बजेटको अख्तियारी दिएको थियो। सो रकमबाट ९० हजार किलोग्राम क्षमताको सिलिण्डर स्थापना गर्न थालिएको हो ।

Last modified on 2021-05-08 19:06:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts