बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै सवारी साधन बिरामी बोक्न प्रयोग गरिने
बैतडी, २५ वैशाख । बैतडीको दोगडाकेदार गाउँपालिकाले आफ्ना सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ ।
अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले जानकारी दिए ।
गाउँपालिकामा एक एम्बुलेन्स, एक टीपर, एक बोलेरो जिप र एक कार रहेकोमा सबैलाई कोरोना नियन्त्रणको काममा प्रयोग गरिने प्रमुख प्रशासकीय अधिकृत धामीले बताए ।
कोरोना भाइरसका संक्रमितहरु बढीरहेकाले उनीहरुको उपचार लगायतका काममा गाडीहरु प्रयोग हुने बताइएको छ ।
यस्तै पालिकाले प्रत्येक वडामा कोभीड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ ।
वडामा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये सम्पर्क व्यक्तिहरु तोकेको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए ।