धनगढीमा ५० शय्याको आइसोलेसन भवन निर्माणको काम ३० प्रतिशत सम्पन्न
धनगढी, २५ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा ५० शय्याको आइसोलेसन भवन निर्माणलाई अगाडि बढाएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य कार्यालयल कैलालीले सञ्चालनमा रहेको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालकै परिसरमा पुनःप्रदेश सरकारले ५० शय्याको आइसोलेसन भवन निर्माण कार्य अगाडि बढाएको हो ।
असार मसान्तसम्म प्रि–फ्याब भवन निर्माणको समय अवधि राखिएको छ । हालसम्म ३० प्रतिशत भौतिक प्रगति भइसकेकोले तोकिएको अवधि भन्दा पहिले नै निर्माणको काम पूरा हुने निर्माण व्यवसायीको दाबी छ । निर्माणको ठेक्का वाईआर कन्ट्रक्सन प्रालिले पाएको छ ।
एक महिना नहुँदै ३० प्रतिशत काम भएकाले सम्झौता अवधि भन्दा पहिले भवन निर्माणको काम पुरा गने सकिने निर्माण व्यवसायी रोहित रानाले बताए । उनले भने, “हामीलाई काम गर्न कुनै समस्या छैन् । निर्माण सामाग्री र कामदार छन् । अबको एक महिनाभित्र काम सक्छौ ।”
एक करोड ४९ लाखको लागतमा स्वास्थ्य कार्यालय कैलालीले निर्माण थालिएको आइसोलेसन भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिने छ । प्रादेशिक अस्पतालले आवश्यक शय्या, उपकरण, अक्सिजन सिलिन्डरलगायतका सामग्री खरिद गर्नुपर्ने छ ।
त्यस्तै, स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले काम द्रुत गतिमा भइरहेको बताए ।
“सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डको समेत सुझाव अनुसार आइसोलेसन भवनको डिजाइन गरिएको छ । पहिलेको भन्दा राम्रो निर्माण गर्दैछौ । काम सकिएपछि सेतीलाई हस्तान्तरण गर्ने हो । सेतीले संक्रमितलाई राख्छ”, उनले भने।