बागलुङमा संक्रमितलाई शय्या र अक्सिजनको अभाव



Download our app to get more features

बागलुङ, २५ बैशाख । धवलागिरि अस्पतालको आइसोलेसन कक्ष कोरोना संक्रमितले भरिएको छ। अस्पताल भर्ना भएका २५ संक्रमितमध्ये दुई जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन् भने बाँकीका अक्सिजनको सहायतामा उपचार भइरहेको छ।

कोरोनाका बिरामी दैनिक थपिँदै जाँदा अस्पतालमा शय्या र अक्सिजनको अभाव हुन थालेको छ। चिकित्सकीय सेवा पनि न्यून जनशक्तिका भरमा छ। तत्काल शय्या नथप्ने हो भने नयाँ आउने बिरामीले उपचारै नपाउने स्थिति छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले भने, ‘शय्यासँगै अक्सिजनको पनि अभाव छ, यसरी नै सङ्क्रमित बढेमा अवस्था चिन्ताजनक हुने देखिन्छ।’ उनका अनुसार पछिल्लो समय भर्ना भएका अधिकांश बिरामीलाई उच्च मात्रामा अक्सिजन दिनुपर्ने अवस्था छ।

‘अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट दैनिक ३५ देखि ४० सिलिण्डरसम्म अक्सिजन व्यवस्थापन भएपनि त्यो अपुग छ,’ मेसु पाखरेलले भने, ‘चौबीसै घण्टा सङ्क्रमितलाई हाइ फ्लो अक्सिजन दिएर उपचार गरिरहुनपर्छ।’ अस्पतालको प्लान्टले नधानेपछि अक्सिजन भर्न सिलिण्डर पोखरा पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

संक्रमितलाई अक्सिजन दिन सिलिण्डरको समेत अभाव देखिएको छ। श्वासप्रस्वासको समस्या लिएर आउने संक्रमित बढेसँगै अक्सिजन अपुग हुन थालेको हो। अस्पतालले यथाशक्य चाँडो पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा सघाउन गण्डकी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग माग गरेको छ। रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts