कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन उपप्रधानमन्त्रीको आग्रह
काठमाडौं, २४ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र सङ्घलाई अनुरोध गरेका छन् ।
नेपालमा रहेको संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग शुक्रवार (आज) भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट पाउने कोभ्याक्स सुविधाअन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरे ।
उपप्रधानमन्त्री पोखरेलले भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको बताए ।
नेपालीलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कुटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराए । उनले भने, ‘कोरोनाविरुद्धको खोप विश्वकै नागरिकहरूको सार्वजनिक चासोको वस्तु हो भन्ने हामी विश्वास गर्छौँ, खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नु हुँदैन ।’
जवाफमा संयुक्त राष्ट्र सङ्घकी नेपालमा रहेका संयोजक साराले आफ्नो तर्फबाट खोप ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना पनि व्यक्त गरे
कोभ्याक्स अन्तर्गत नेपालले २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म तीन लाख ४८ हजार डोज मात्र प्राप्त गरेको छ । नेपाल सरकारले खरिद गरेको २० लाखमध्ये १० लाख डोज नेपाल आइसकेको छ भने बाँकी १० लाख डोज खोप अझै आउन बाँकी छ ।