म्याग्दी अक्सिजनमा आत्मनिर्भर
काठमाडौं, २४ बैशाख । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ ।
बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर म्याग्दीलाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना सङ्क्रमित र श्वासप्रश्वासको समस्या भएका बिरामीको उपचारमा समस्या भएको खबर सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने अक्सिजनको उत्पादन र आपूर्ति पर्याप्त छ ।
बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्थापन गरिएको बताए । अस्पतालको सबै शय्यामा प्लान्टबाट सिधै पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएका छौँ, उनले भने, निर्माणाधीन आइसोलेशन कक्षमा पनि पाइपबाट सिधै अक्सिजन आपूर्ति गर्ने संरचना तयार पार्दैछौँ । सिलिन्डर पनि तयारी अवस्थामा छन् ।
बेनी अस्पतालमा ३४ ठूला, चारवटा मध्यम र एम्बुलेन्समा जडान भएकासहित छ वटा साना अक्सिजनका सिलिन्डर छन् । अस्पतालका सिलिन्डर बिरामीलाई घर लैजान दिइएको छैन । दीर्घरोगीको निधनपछि घरमै प्रयोगविहीन भएर थन्किएका अक्सिजन सिलिन्डर उपलब्ध गराउन अस्पतालले अपिल गरेको छ ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा आउने बिरामी र नियमित अक्सिजन लगाउनुपर्ने बिरामीका लागि बाहिरबाट अक्सिजन आयात हुन छाडेको बताउनुभयो । अस्पतालमा भएका सबै ३० वटा शय्यामा अक्सिजन पाइप जडान गरिएको छ । आकस्मिक, मिर्गौला डायलाइसिस, सघन उपचारकक्ष (आईसीयू) र बहिरङ्ग विभागका शय्यामा अक्सिजन आपूर्ति गराउन पाइप लाइन जडान भएको छ । सिलिन्डर भरेर ओसार्नु पर्दैन ।
पाइपबाट शय्यामै अक्सिजन आपूर्ति हुन थालेपछि स्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको छ । गएको पुषदेखि अस्पतालमा अक्सिजन उत्पादन सुरु गरेपछि घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिन्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको १० लाख रुपैयाँ बजेटले प्लान्टबाट अस्पतालको बेडमै अक्सिजन पुर्याउन पाइपलाइन जडान गरिएको हो । प्लान्टले एक दिनमा १५ वटा सम्म सिलिन्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको छ । अहिले १० वटासम्म सिलिन्डर भर्ने डाक्टर कँडेलले बताए ।
अस्पतालमा सामान्य अवस्थामा दैनिक २० देखि २५ जना स्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिन्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एक पटकमा तीन वटा सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख रुपैयाँ खर्च भएको छ ।
ुसामाजिक विकास मन्त्रालयले गएको आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट पठाएकोमा प्रतिस्पर्धामार्फत ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले भने, सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत रघुगङ्गा गाउँपालिकाले दिएको १४ लाख रुपैयाँ र अस्पतालको एक लाख ४० हजार रुपैयाँमा सिलिन्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर पलान्ट सञ्चालनमा ल्याएका छौँ ।
मन्त्रालयको पाँच लाख रुपैयाँ सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ३० लाख रुपैयाँबाट सघन उपचार कक्षमा १ वटा भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको कटुवालले बताए ।
२०७२ सालमा ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पाँच शय्या क्षमताको सघन उपचारकक्ष सञ्चालनमा ल्याएको छ । गएको साउनदेखि मिर्गौलाको डायलायसिस सेवा सुरु गरेको अस्पतालले आँखा उपचारकक्षसमेत सञ्चालन गरेको छ । फोहर व्यवस्थापन केन्द्रसमेत स्थापना गरेको छ ।
पचास शय्या क्षमताको भवन निर्माणमा भएको ढिलासुस्ती र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौती देखिएको छ ।रासस