सुदूरपश्चिममा कैलालीका ३ सहित थप ४ जना कोरोना संक्रमितको मृत्यु
धनगढी, २३ वैशाख । पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सेती अस्पतालमा उपचाररत कैलालीका ३ जनासहित थप ४ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, धनगढीकै वडा नम्बर ६ की ५८ वर्षीया महिला र जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।
धनगढीका ८१ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे, धनगढीकै ५८ वर्षीया महिलाको बुधबार दिउँसो ३ बजे र जोशीपुरका ६० वर्षीय पुरुषको बिहीबार बिहान ६ बजे ज्यान गएको हो ।
यस्तै बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया कोरोना संक्रमित महिलाको पनि बिहीबार बिहान १ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।