कोरोना संक्रमितको उपचारका लागि तोकिएको शुल्कभन्दा बढी लिनेलाई कारबाही गरिने
काठमाडौं, २२ वैशाख । सरकारले कोरोना संक्रमितको उपचारका लागि तोकिएको भन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने भएको छ ।
केही निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि भन्दै मनपरी शुल्क लिन थालेको गुनासो आएपछि त्यसो नगर्न पनि आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार महामारीको यस विषम परिस्थितिमा केही निजी अस्पतालहरुले अनावश्यक शुल्क लिने, सेवाग्राहीलाई दुः ख दिने जस्ता गतिविधि गर्ने गरेको गुनासो आएकाले त्यसो नगर्न भनिएको छ ।
अधिकारीले कसैले बिरामीलाई कोरोनाको उपचारका नाममा अनावश्यक गैर कानूनी रुपमा शुल्क लिएको पाइएमा स्वास्थ्य मन्त्रालय वा नजिकैको प्रहरीमा खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।
उनले यदि सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने काम रोकिएन भने कडा भन्दा कडा कारबाही गरिने चेतावनी पनि दिए ।
काठमाडौ उपत्यकाका ह्याम्स अस्पताल, काठमाडौं मेडिकल कलेज अस्पताल लगायतले कोरोना संक्रमितको उपचारका लागि बिरामीसँग मनपरी शुल्क लिँदै आएका छन् । यसअघि कोरोनाको पहिलो लहरको क्रममा पनि नर्भिक, काठमाडौं मेडिकल कलेजले १५ हजारदेखि २ लाखसम्म शुल्क लिँदै आएको थियो ।